कति धनी राप्रपाका नेताहरु ! अध्यक्षमा उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क
Published:
by .काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न शुल्क वापत १ लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिएका छन् ।
भर्खरै सम्पन्न नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न केवल १५ हजार रुपैयाँ तोकिएको थियो । जुन रकम राप्रपाको केन्द्रीय सदस्यका उम्मेदवारले तिर्नुपर्ने भएको छ । कति धनी राप्रपाका नेताहरु ! आज राप्रपा महाधिवेशन आसपास काठमाडौंका चियापसलमा यस्तो चर्चा हुँदै गरेको सुनिएको छ ।
अध्यक्षमा पुनः उम्मेदवारी दिने तयारी गरेका कमल थापाकै निर्देशनमा यस्तो निर्णय भएको जनाइएको छ । अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई उम्मेदवारी दर्तामा सकस परोस् भन्ने आत्मरतिका कारण महंगो मनोनयन शुल्क राखिएको स्रोतको दावी छ ।
हिजो बुधबार सुरु भएको राप्रपा महाधिवेशनले एकजना अध्यक्ष, कम्तीमा एक महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।
निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।
Comments