जनतासँग जानुको विकल्प छैनः एमाले उपाध्यक्ष नेम्वाङ
Published: (Updated: )
by .शिवसताक्षी । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परमादशेबाट सरकार बनेदेखि मुलुक ठप्प भएको बताएका छन् । ठप्प भएको मुलुकलाई चलायमान बनाउन ताजा जनादेशमा जानुपर्ने उनको भनाई छ ।
झापाको दूधेमा शुक्रबारदेखि शुरु भएको दिलमाया स्मृति कप–२०७८ फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै नेता नेम्वाङले सरकार सिन्को नभाँच्ने, प्रतिनिधिसभालाई कामविहीन बनाउने र अदालतमा न्याय सम्पादनको काम बन्द गरेर मुलुक नै ठप्प बनाएको आरोप लगाएका हुन् । उनले यी सबै ठप्प भएका क्षेत्रलाई चलायमान बनाउन निर्वाचन अपरिहार्य भएको दोहोर्याए ।
झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको खेललाई सम्बोधन गर्दै उनले समृद्धि नचाहनेहरुले मुलुकलाई ठप्प बनाएको जिकिर गरेका हुन् । एमाले उपाध्यक्ष नेम्वाङले नेपालको इतिहासमा पहिलोपटक सर्वोच्च अदालत ठप्प भएको पनि सुनाए । जनताले न्याय खोज्दै जाने ठाउँमा यस्तो समस्या संसार मै नहुने उनको भनाई थियो ।
नेकपा एमाले जनताको बीचमा जान तयार रहेको भन्दै उनले अन्य दलहरुलाई समेत ढिलाई नगर्न आग्रह गरे । हामी जनताको बिचमा हिसाब किताब लिएर जान्छौ, उनले थपे– प्रतिपक्षी दलले यसो भनिरहेको बेला सत्ता पक्ष भाग्नु स्वभाविक हुनेछैन ।
नेपाली कांग्रेस र राप्रपासमेत महाधिवेशनमा होमिएकाले त्यसपश्चात देशलाई गम्भीर अवस्थाबाट मुक्त गराउन लाग्ने विश्वास व्यक्त गरेका छन् । देशलाई यो अवस्थाबाट मुक्त गराउन जनताको बिचमा जानैपर्छ, त्यसबाहेक कुनै विकल्प छैन– नेम्बाङले भने ।
उद्घाटन समारोहमा दिलमाया स्मृति प्रतिष्ठानका संरक्षक सांसद् एलपी साँवा र नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले मन्तव्य राखेका थिए ।
प्रतियोगिता उद्घाटन समारोहमा व्यापक झाँकी प्रदर्शन गरिएको थियो ।
Comments