Sajhamanch Archive

काँग्रेसको बागमती प्रदेश अधिवेशन, सभापतिमा पुनः मतदान , बानियाँ र केसीबीच प्रतिस्पर्धा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

हेटौँडा, नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।

काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बढी मत ल्याउन ईन्द्रबहादुर बानियाँ र जगदिशनरसिंह केसीबीच सभापति पदका लागि मतदान हुँदै छ ।

आइतबार सार्वजनिक भएको मत परिणामअनुसार बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । १० मत बदर भएको छ ।

काँग्रेस प्रदेश निर्वाचन समितिका संयोजक केशवप्रसाद काफ्लेले पुनः मतदान कार्य ११ः३० बजेबाट सुरु भएको जानकारी दिए ।

प्रदेश सभापतिलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शनिबार भएको मतदानमा दुई हजार १५१ जना मतदातामा २०७१ मत खसेको थियो ।

सभापतिका लागि मतदान सकिएपछि कार्यसमितिका उपसभापति, महामन्त्री, सहमहामन्त्री र कार्यसमितिका लागि भएको मतदानको मतगणना गरिने समितिका संयोजक काफ्लेले जानकारी दिए ।

प्रदेश सभापतिमा देउवा पक्षबाट बानियाँ, पौडेल पक्षबाट केसी र सिटौला पक्षबाट प्रधानले प्यानलसहित उम्मेदवार बनेका थिए । प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीबीच प्रतिस्पर्धा भएको छ ।

दुई जना महामन्त्रीका लागि कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठलेले उम्मेदवार रहेका छन् ।

सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङ उम्मेदवार रहनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

यसैगरी खुलातर्फ दुई जना सहमहामन्त्रीमा ऋषिराम घिमिरे, जगन्नाथ धिमाल, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाबीच चुनावी प्रतिस्पर्धाभएको छ ।

प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले सभापतिसहित विभिन्न पदमा गरी २५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताए ।

९१ सदस्यीय कार्यसमितिमा पदाधिकारी बाहेक हरेक जिल्लाबाट, खुला, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य गरी ८३ जना कार्यसमिति सदस्यका लागि निर्वाचन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *