Sajhamanch Archive

सेयर बजारमा भारी गिरावट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by .

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।

बजार आज ७२.३२ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५१३.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१७ अंकले घटेर ४७३.३५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार प्रेम ओली बजारको लयको विषयमा अनुमान गर्न गाह्रो रहेको बताउँछन्। बैंकहरुमा तरलता संकट छ, लगानीका लागि पैसा माग्दा नपाउने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘अर्कोतर्फ सरकारले पुँजीगत खर्च गर्न सकिरहेको छैन, यही कारण बजार अब के होला भनेर अहिले नै भन्ने अवस्था छैन।’

नियामक निकायहरु पनि प्रमुखविहीन अवस्थामा रहेकोले बजार प्रभावित भइरहेको ओलीले बताए। ‘यदि नियामक निकायहरुमा प्रमुखहरु रहेको भए बजारको आजको यो अवस्थाबाट फर्काउन उनीहरुले सम्बन्धित निकायहरुसँग पहल वा समन्वय गर्थे’, उनले भने, ‘अहिले त्यो अवस्था पनि छैन।’

बजार बुलिस नै रहेको तर्क गर्दै ओलीले ‘यो विन्टर करेक्सन पनि भएकोले बजार केही दिन २४०० देखि २६०० को विन्दुबीचमै रहन सक्छ।’ महौल परिवर्तनसँगै सरकारी खर्च बढेमा माघ–फागुनबाट बजारले गति लिन सक्ने ओलीको भनाइ छ।

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे तरलता अभाव, ब्याजदर वृद्धि र मौद्रिक नीतिमा गरिएको ४–१२ को व्यवस्थाले बजारमा नकारात्मक असर परेको बताउँछन्। ‘घट्ने ठाउँ लगभग सकिएको छ’, उनले भने, पहिलाको रेकर्ड ब्रेक गर्न समय लागे पनि तरलता सहज हुँदै गएमा बजार फेरि माथि नै जान्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.६२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ४.२९ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ४.२७ प्रतिशत, बैंकिङ समूहमा २.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६७ प्रतिशत, जलविद्युत समूहमा ३.२८ प्रतिशत, निर्जीव बीमा समूहमा २.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०८ प्रतिशत, अन्य समूहमा ३.५४ प्रतिशत, लघुवित्त समूहमा २.६४ प्रतिशत, जीवन बीमा समूहमा २.७१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५४ प्रतिशत र लगानी समूहमा ३.३४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४।९३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक २८ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १७ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १६ करोड ६८ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १२ करोड २५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ६ लाख रुपैयाँ, अरुण काबेली पावरको ९ करोड ३२ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ७७ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज न्यादी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ।

आज आईसीएफसी फाइनान्स र सबैको लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *