कांँग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व
Published:
by .काठमाडौं– प्रदेश २ बाहेक अन्यमा नेपाली कांँग्रेसको प्रदेश अधिवेशन सकिएको छ। अधिवेशनसँगै ती प्रदेशमा सभापतिको परिणामसमेत आइसकेको छ।
परिणम अनुसार प्रदेश सभापतिमा समेत संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षको वर्चस्व रहेको छ। अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) को सभापति विजयी बनेका छन्।
बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा भने देउवा पक्षका सभापति विजयी बनेका छन्। प्रदेश एकमा भने सभापति देउवा र नेता कृष्ण सिटैलाको समूह बनेको थियो।
प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी बनेका छन्। पदाधिकारीमा समेत थापा पक्षकै बाहुल्यता रहेको छ। प्रदेश १ मा वरिष्ठ नेता पौडेल र शेखर कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा विजयी बनेका हुन्।
प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन। अब महाधिवेशन पछिमात्र गर्ने भनिए पनि मिति तय हुन भने सकेको छैन्। बागमती प्रदेश सभापतिमा देउवावक्षीय इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
दोस्रो चरणको निर्वाचनमा पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ सभापतिमा निर्वाचित भएका हुन्। दोस्रो चरणको मतदानमा उनलाई कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधान समूहले साथ दिएको थियो।
गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन्।
कुल ११४६ मत खसेकोमा उनले ६१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए।
लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्। वरिष्ठ नेता पौडेल पक्षका पुनले पार्टी सभापति देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। गण्डकी र लुम्बिनी प्रदेशमा सभापतिसँगै पदाधिकारीमा समेत पौडेल पक्षकै वर्चस्व रहेको छ।
कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। संस्थापनइतरका भुपेन्द्रजंग शाहीलाई पराजित गर्दै उनी सभापति बनेका हुन्।
सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। सुदूरपश्चिममा देउवा पक्षकै बलायरको प्यानलले नै जित निकालेको हो।
प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याएका थिए।
Comments