Sajhamanch Archive

विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न (तस्बिरसहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

जनकपुरधाम, साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए ।

राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरियो ।

यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र आज तिलकोत्सव विधि मनाइएको हो ।

त्यस्तै, मंगलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *