Sajhamanch Archive

सभापति देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेस संस्थापनको ठहर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली काँग्रेसको बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो ठहर गरेको नेतृ डीला सङ्ग्रौलाले जानकारी दिइन् ।

‘पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको नेतृत्व पुनः एक कार्यकाल कांँग्रेसका लागि अपरिहार्य भएको ठहर बैठकले गरेको छ’, नेतृ सङ्ग्रौलाले भनिन् ।

पार्टी सभापति देउवाको नेतृत्वमा महाधिवेशनमा जाने निर्णय भएको उनको भनाइ छ । सभापतिमा देउवाको निरन्तरता अपरिहार्य भएको ठहर गरेको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यका आकाङ्क्षीको व्यवस्थापनका लागि पुनः छलफल गर्ने भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा लड्ने बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै महामन्त्रीको आकाङ्क्षी भएको घोषणा गरिसकेका छन् ।

बुधबारको छलफलमासमेत प्रवक्ता शर्माले महामन्त्रीमा आफ्नो दाबी रहेको दोहोर्याए । बूढानीलकण्ठ छलफलले पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ्न थप छलफल आवश्यक भएको ठहर गरेको सङ्ग्रौलाको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *