शिवसताक्षीमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइने
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाईने भएको छ । आउँदो पौष ४ गते शिवसताक्षीको दूधे रंगशालामा चासोक तङ्नामको भव्य आयोजना गरी मनाउने आयोजक किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
याक्थुङ चुम्लुङ शिवसताक्षीले विगत २०७३ सालदेखि दूधेमा धुमधामका साथ लिम्बु जातिहरुको पर्व चासोक तङ्नाम मनाइदै आएको र यस वर्ष पनि भव्य कार्यक्रमको आयोजना गरिएको किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष विरबल जवेगुले बताए । उनले यो पर्व विशेष गरेर लिम्बु जातिको भएपनि पछिल्लो समय सबै जातजातिहरु विभिन्न पहिरनमा सजिएर चासोक तङ्नाम मनाउन थालेको जानकारी दिए । अघिल्लो वर्ष कोभिडका कारण चासोक तङ्नाम सानो कार्यक्रम गरी मनाईको थियो । विशेष गरी अरुण पूर्वका नौ जिल्लामा बसोबास गर्ने लिम्बू जातिहरुले आफ्नो मौलिक पर्वका रुपमा चासोक तङ्नामलाई मनाईने गरिएको अध्यक्ष जवेगुको भनाई छ ।
लिम्बू जातिले प्राचिन कालदेखि नै अन्नबाली पाकेपछि भित्र्याउनु अघि इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ । त्यस्तै लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी)लाई अर्पण गरिने चलन रहेको अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।
कार्यक्रममा लिम्बु जातिका खेलहरु छेलो, धनुष्काडलगायत र बाजाहरु च्याब्बरुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गर्ने आयोजक किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले जनाएको छ ।
लिम्बु जातिले गाउने पालन, हाक्पारे मौलिक गीतकी गायिका गंगा फुयालको बेजोड प्रस्तुति रहने समेत बताइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेनिला राई र उल्छन विक्रम राई, भरतमणी पौडेल र सन्दीप क्षेत्री मध्ये कुनै एक जनाको बेजोड प्रस्तुति रहने छ ।
प्रदेश एक स्तरीय कार्यक्रममा पूर्वका नौ जिल्ला र दार्जेलिङ सिक्किमबाट पनि उस्थिति रहने बताइएको छ । करीब ८ लाख रुपैयामा कार्यक्रम सम्पन्न गर्ने आयोजक आयोजक किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले जनाएको छ । शिवसताक्षी नगरपालिकाबाट सहयोग र विभिन्न दातृ संस्था, वैदेशिक रोजगारीमा गएका साथी भाईको सहयोगबाट कार्यक्रम सम्पन्न गर्ने किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीका सचिव प्रेम शेर्माले जानकारी दिए । चासोक तङ्नाम सफल पार्न आयोजकले १९ ओटा उपसमिति समेत गठन गरेको जनाएको छ ।
Comments