राम-सीता विवाह सम्पन्न, आज रामकलेवा विधि हुँदै
Published: (Updated: )
by .जनकपुर – साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिने भएको छ ।
आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ ।
आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको छ । रामकलेवाको क्रममा भारतबाट आएका साधु सन्तलाई जनकपुरकी महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराउने परम्परा रहेको छ ।
यसअघि जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान् राम र सिताबिच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । गएराति त्रेता युगमा जस्तै राम र सिताको विवाह गरिदिएर विवाह पञ्चमी मनाइएको हो । विवाह समारोहमा लाखौँ श्रद्धालु सहभागी थिए ।
साधु सन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर हिजो दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंवर गरिएको थियो ।
ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा(छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंवर गरिएको थियो ।
Comments