Sajhamanch Archive

पौडेल र चौधरीलाई महामन्त्री–सहमहामन्त्री दिन देउवा सहमत, उपसभापति बन्लान् सिटौला ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, चौधौँ महाधिवेशन उद्घाटन भएसँगै बल्ल नेपाली कांग्रेसमा चुनावी जोडघटाउ सुरु भएको छ।

आफ्ना उम्मेदवारहरूको घोषणाअघि रामचन्द्र पौडेल पक्षको टिम हेर्न खोजिरहेका सभापति शेरबहादुर देउवाले अन्ततः शुक्रबार कृष्णप्रसाद सिटौलासँग एक तहको सहमति गरेका छन्।

शुक्रबार महाधिवेशन उद्घाट गर्न भृकुटीमण्डप पुग्नुअघि नै बालुवाटारमा देउवा र सिटौलाबीच सहमति बनेको हो। शुक्रबार साँझ दरबारमार्गको एक होटलमा आफ्नो समूहको भेला राखेर सिटौलाले देउवासँग प्रारम्भिक सहमति बनेको ब्रिफिङ गरेका हुन्।

‘देउवासँग महामन्त्री, सहमहामन्त्री र एक केन्द्रीय सदस्यको कुरा भइसकेको छ’, सिटौलाको भनाइ उधृत गर्दै उनी निकट नेता भीमसेनदास प्रधानले भने, ‘अरु छलफल भइरहेको छ, सहमति हुन्छ।’

सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल, सहमहामन्त्रीमा उमाकान्त चौधरी र एक केन्द्रीय सदस्यमा सुधिर सिवाकोटीका लागि देउवासँग सहमति भैसकेको जानकारी दिएका हुन्।

शुक्रबार बिहान पौडेल पक्षबाट रामचन्द्र पौडेल एक मात्र सभापतिको उम्मेदवार हुन सक्ने सूचना पाएपछि देउवा सकेसम्म पहिलो चरणमै आफू सभापतिमा निर्वाचित हुन सिटौलासँग सहमति गर्नु पर्ने दबाबमा थिए।

सिटौलासँग सहमति गर्दा पहिलो चरणमा नभए पनि आफ्नो जीत सुनिश्चित हुने आकलन देउवा पक्षको छ। त्यसका लागि महामन्त्री र सहमहामन्त्री जस्ता दुई महत्वपूर्ण पद सिटौला पक्षलाई दिन सहमत भएको देउवा पक्षीय नेताहरूको बुझाई छ।

तर, सिटौलाले यी दुई पदमै चित्त बुझाएर देउवालाई सभापतिमा साथ दिन्छन् वा आफू उपसभापति बन्ने गरी सहमति गर्छन् भन्ने प्रष्ट भइसकेको छैन।

सिटौलाले भेलामा आफू कुनै पदको आकांक्षी नरहेको बताएपनि उपसभापति पदमा बस्न कार्यकर्ताहरूले उनीमाथि दबाब दिएका छन्।

तर, कतिपयको बुझाई के पनि छ भने देउवा–सिटौलाबीच राष्ट्रपति वा उपसभापति जस्ता पदमा सिटौला जाने गरी समझदारी बनिसकेको छ। यदि उपसभापति लिने सहमति नै भएको भएपनि यो विषय भने संस्थापन इतरको टिम निश्चित भएपछि मात्रै घोषणा हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *