कांँग्रेस सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा २९ जनाको उम्मेदवारी
Published:
by .काठमाडौं, नेपाली कांँग्रेसको १४ औं महाधिवेशनका लागि शनिबार बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ।
बेलुका ५ बजे सकिएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत सभापति (एक) र महामन्त्री (दुई) पदका लागि हरेक पदमा ६-६ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी उपसभापति (दुई) पदका लागि सातजनाको र कलस्टरसहितको सहमहामन्त्रीका लागि २९ जनाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी ३५ जना खुला सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानले उम्मेदवारी दिएका छन्। त्यसैगरी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दिएका छन्।
महामन्त्रीको दुई पदका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।
कांँग्रेसको निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशनसमेत शुक्रबार गरिसकेको छ। आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका छ।
यस्तै समितिले आइतबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सो दावी विरोध उपर निर्णय गर्ने, मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरिक लिपी) पहिलो नाम प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ।
निर्वाचन समितिले आइतबार दिउँसो नै ३ देखि ४ बजेसम्म मनोनयन फिर्ताको समय छुट्टयाएको छ। साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ गते मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।
Comments