Sajhamanch Archive

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

Published: in राष्ट्रिय समाचार, समाज, by .

काठमाडौँ, बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ ।

मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन । उनले अब सहज रूपमा आयोजना स्थलसम्म पुगी क्षतिबारे यकिन गरी काम सुरु गर्न सकिने बताए ।

प्रवक्ता पन्तले मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको अल्पकालीन कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको जानकारी दिए ।

बाढीपहिरोले बगाएका संरचनाको स्थायी निर्माणका लागि खानेपानी मन्त्रालय र एसियाली विकास बैङ्कले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् र अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचना निर्माण गरिने छ ।

मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा उपत्यकामा मेलम्चीको पुनः पानी ल्याउने गरी विस्तृत कार्ययोजना तयार गरी खानेपानी मन्त्रालयमा बुझाइसकेको छ ।

मन्त्रालयले सो कार्ययोजनालाई विस्तृत अध्ययन गरी अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्चीको पानी उपत्यकामा पुनः वितरण सुरु गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामलाई समेटेर विस्तृत कार्ययोजना तयार भइसकेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *