Sajhamanch Archive

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश हुने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुर, प्रदेश २ को प्रदेशसभा आठौं अधिवेशन आज ११ बजे शुरु हुँदैछ । अधिवेशनमा मन्त्रिपरिषद् विस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा दुई विश्वविद्यालयसम्बन्धी विधेयक पेश गरिने प्रदेश सभा सचिवालयले जानकारी गराइएको छ ।

प्रदेशसभा सचिव रञ्जित यादवले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट आएका पत्रहरु पढेर सुनाउने कार्यक्रम रहेको जानकारी दिए । उनले प्रदेश सरकारले अध्यादेशमार्फत जारी गरेका दुई विश्वविद्यालयसम्बन्धी विधेयकहरु सभामा पेश गरिने र ती विधेयकहरुउपर टेबुल हुने बताए ।

यसै सभाको बैठकमा प्रदेशको नाम र राजधानीबारे निर्णय लिने संभावना रहेको उनले बताए । प्रदेश सभाको पहिलो बैठकमा दलका प्रतिनिधिहरुले शुभकामना दिने कार्यक्रम पनि रहेको बताइएको छ ।

यसअघि सभामुख सरोजकुमार रायले सातांै अधिवेशनमा प्रदेशको नामकरण र राजधानी टुङ्ग्याउन रुलिङ गरेका थिए ।

प्रदेश २ मा चारदलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाईभन्दा बढी प्रदेश सभासदको समर्थन छ ।

जसपाको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन । गठबन्धन दलहरुबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति भएको छैन ।

यसअघि नै जसपाले प्रदेशको नाम मधेश प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको थियो । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले सातौं अधिवेशनमा समर्थन जनाइसकेको थियो ।

गठबन्धनमा सहभागी दलहरुमध्ये तत्कालनी विपक्षी दलका भूमिकामा रहेका नेपाली काँग्रेस प्रदेशको नाम मिथिला–भोजपुरा राखिने अडानमा छ भने विगतमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको विपक्षमा रहे पनि यस पटक पक्षमा रहने अनुमान गरिएको छ । विगतको अधिवेशनदेखि नै नेकपा एमाले मधेश प्रदेशको विपक्षमा रहदै आएको छ ।

प्रदेश २ सभामा जसपाको ३९, नेपाली काँग्रेसको १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादी केन्द्रको र नेकपा एमालेको आठ/आठ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना गरी १०४ जना प्रदेश सभासद छन् ।

प्रदेशको राजधानी जनकपुरधाम कायम गरिनेमा प्रायः सबै दलहरु सहमत नै छन । त्यसैले यस अधिवेशनबाट राजधानी पारित हुने सम्भावना छ ।

गत ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बसेको बैठकबाट प्रदेशसभाको आठौ अधिवेशन आह्वान गरिएको जानकारी दिनुहुँदै प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद्को बैठकले विभिन्न ऐन, प्रदेशको स्थान र राजधानीको नाम टुङ्गो लगाउन प्रदेश सभा अधिवेशन आह्वानको निर्णय गरेको बताए ।

प्रदेश २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज बुधबार बिहान ११ बजे प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *