काँग्रेसमा बाँकी ५ जना सहमहामन्त्री टुंगो लगाउन मतगणना सुरु गरिँदै
Published:
by .काठमाडौ, नेपाली कांँग्रेसको सहमहामन्त्रीतर्फ बाँकी उम्मेदवारहरूको मतगणना तयारी गरिँदै छ। कांँग्रेसको १४औं महाधिवेशनअन्तर्गत आठ सहमहामन्त्रीका उम्मेदवारमध्ये बिहीबार ३ जनाको नतिजा सार्वजनकि भइसकेको छ।
बाँकी पाँच क्लस्टरको मतगणना केही बेरमा सुरु गर्ने तयारी भइरहेको कांँग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
‘म मतगणनास्थल (सानेपा) जाँदै छु, अरू कतिपय साथी पुगिसक्नुभएको छ’, शुक्रबार बिहान श्रेष्ठले बताए, ‘अब केही बेरमा मतगणना थाल्छौं।’ बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यतर्फका सहमहामन्त्रीको मत गणना गर्न लागिएको उनले बताए।
जसअन्तर्गत खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे प्रतिस्पर्धामा छन्।
यी प्रत्येक क्लस्टरबाट एकरएक जना सहमहामन्त्री चुनिनेछन्। यसअघि महिला, दलित र आदिवासी जनजाति क्लस्टरबाट एक एक जना सहमहामन्त्री निर्वाचनबाट छानिइसकेका छन्।
बिहीबार राति सार्वजनिक नजिताअनुसार महिलातर्फ महालक्ष्मी ‘डिना’ उपाध्याय, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलिततर्फ जीवन परियार विजयी भइसकेका हुन्। अघिल्ला दुई जना देउवा र पछिल्ला एक जना शेखर समूहका हुन्।
सहमहामन्त्रीकोे टुंगोपछि कांँग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ।
Comments