पौष ६ गते शिवसताक्षी ७ को मिलन चोकमा चासोक तङ्नाम भव्य रुपमा मनाइने
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी न.पा. ७ स्थित मिलन चोकमा चासोक तङ्नाम बृहत रुपमा मनाइने भएको छ ।
मिलन सांस्कृतिक परिवार तथा मिलन याक्थुङ चुम्भोको आयोजनामा २०७८ को चासोक तङनाम भव्य रुपमा सम्पन्न हुने भएको हो । शनिबार शिवसताक्षी २ स्थित मंगलबारेमा पत्रकार सम्मेलन गरी पौष ६ गते चासोक तङनाम बृहत रुपमा मनाइने जानकारी गराइएको हो ।
चासोक तङ्नाम पौष ४ गते परेता पनि शिवसताक्षी ११ स्थित दूधे रंगशालामा बृहत् कार्यक्रम हुने भएकोले मिलन याक्थुङ चुम्भोले दुई दिनपछि पौष ६ गते चासोक तङनामको तयारी गरेको आयोजक मिलन याक्थुङ चुम्भोले जनाएको छ ।
पत्रकार सम्मेलनमा सामाजिक अगुवा राज लिम्बूले लिम्बू जातिहरुको संस्कार संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्न प्रत्येक वर्ष मनाउँदै आएको यो पर्व सभ्य र भव्य रुपले सम्पन्न हुने बताए । उनले चासोक तङनाममा अन्न बाली पाकेपछि सामूहिक रुपमा भेला भई पूजा आजासहित नया अन्न माङलाई चढाई न्वागी खाने चलन रहीआएकोले यसको निरन्तरताको लागि कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
कार्यक्रममा युवाहरुका ढुकढुकी गायक एकदेव लिम्बू र गायिका सुनिता संयक लिम्बूको बेजोड सांगीतिक प्रस्तुती रहने र स्थानीय कालाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी)लाई अर्पण गरिने चलन रहेको छ ।
कार्यक्रममा लिम्बु जातिका खेलहरु छेलो, धनुकाँण (लिःतोङ), डोरी तान्ने (इधाक) लगायत र बाजाहरु च्याब्बरुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गर्ने आयोजकले जनाएको छ । चासोक तङनामका आकर्षक कार्यक्रमहरुमा चासोक सेवा पूजा तथा प्रसाद वितरण गरिने छ ।
त्यसैगरी विभिन्न समयमा मिलन सांस्कृतिक परिवार तथा चासोक तङनाममा सहयोग गर्ने दाता महानुभावहरु दुई दर्जन बढीलाई सम्मान गरिने जानकारी गराइएको छ । कार्यक्रम संयोजक सन्तोष थेगिम, सचिव बसन्त याक्थुङ, कोषाध्यक्ष भवानीविक्रम चेम्जोङहरुका अनुसार कार्यक्रममा पाँच लाख बढी खर्च हुने अनुमान गरिएको बताइएको छ । चासोक तङनामका लागि हाल मलेसियामा बस्दै आएका मनु सम्बाहाम्फेको अभियानबाट १ लाख ११ हजार सहयोग प्राप्त भएको बताइएको छ भने हङकङमा बस्दै आएका माइतराज बखिमबाट सहयोग प्राप्त हुने आर्थिक संयोजक मणिकुमार बखिमले बताए । गत वर्षहरुमा भएका कार्यक्रमबाट बचत रकम २ लाख बढी साथै यस वर्ष उठेको रकमबाट केही रकम बचत गरी मिलन सांस्कृतिक परिवारको भवन निमार्णका लागि जग्गा खरिद गर्ने निर्णय गरिएको बताएका छन् । उनले सम्पूर्ण दाता महानुभावहरुमा सहयोगको अपेक्षा समेत गरेका छन् ।
Comments