Sajhamanch Archive

तीन सातामा १०६ किलो सुन बरामद

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौँ, वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।

मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदूरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भने , “खाडी मुलुकबाट फर्किने कामदारलाई प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरिएको देखिन्छ ।

यसलाई नियन्त्रण गर्न अपरेसन सञ्चालन गरेका छौँ ।” भरियाका रूपमा प्रयोग भएका कामदारबाट बरामद भएको सुन नियन्त्रणमा लिने र भन्सार तिरेपछि सुन लैजान सकिनेसमेत उनले बताए ।

उनका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशतले चाहिँ वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । पर्यटक भिसाका पनि १० प्रतिशतले वैध रूपमा ल्याउने गरेका छन् ।

राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ । सोही दिन २१ किलो अवैध सुन बरामद भएको थियो ।

पछिल्लो तीन हप्तामा मात्र वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले निगरानी सुरु गरेको पहिलो हप्ता साढे ७२ किलोग्राम, दोस्रो हप्ता २१ किलोग्राम र तेस्रो हप्ता १३ किलोग्राम सुन बरामद गरेको जनाएको छ ।

भरियाका रूपमा प्रयोग हुने कामदार प्रलोभन र अन्जानमा फस्ने गरे पनि मुख्य तस्कर पत्ता लाग्न सकेका छैनन् । भन्सारमा कडाइपछि सुनको तस्करी कम भएको देखिएको छ ।

तस्करीको सुन कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

तस्करीको ट्रान्जिट ब्रेक गर्न विशेष अपरेसन सुरु गरिएको बताउँदै प्रमुख महेश भट्टराईले विमानस्थलबाट हुने तस्करीलाई कडाइ गरेपछि वैदेशिक रोजगारीबाट फर्किने सामान्य कामदारलाई तस्करले प्रयोग गरेको जानकारी दिए ।

आम्दानीभन्दा बढी मूल्यको सुनका गहना बोकेर ल्याउने कतिपय मजदूरले नेपाली भाषा उल्लेख गरिएका बिलसमेत प्रयोग गर्ने गरेको देखिएको छ ।

भन्सार छल्ने उद्देश्यले कामदारलाई भरिया बनाएर ल्याएको सुनको गहनाजस्तो देखिने बाला, सिक्री, औँठी ल्याउने गरेका छन् ।

भन्सार ऐन, २०६४ अनुसार यात्रुले प्रयोग गरेको ५० ग्रामसम्मका सुनका गहना ल्याउन लैजान अनुमति दिइएको छ तर यात्रुले लगाएको सुनको स्रोत खुल्नुपर्छ । स्रोत नखुलेका वा शङ्कास्पद सुन वा गहना भन्सार कार्यालयले नियन्त्रणमा लिन सक्छ ।

नौ सयभन्दा बढी यात्रुले ल्याएको ९९ किलोग्राम सुन राजस्व तिरेर फिर्ता लगेका छन्, जसबाट नौ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सुनको अवैध तस्करी बढ्न थालेपछि नियन्त्रणका लागि अर्थ मन्त्रालय र विमानस्थल भन्सार कार्यालय विशेष टोली संयुक्त रूपमा परिचालन गरिएको छ ।

अर्थ मन्त्रालयबाट १० र भन्सार कार्यालयबाट नौ जनासहित ७० जनाको टोलीले विमानस्थलमा सूक्ष्म अनुगमन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *