Sajhamanch Archive

युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by .

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

उनले आर्थिक स्तर राम्रो भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता सरकारको रहेको उल्लेख गर्दै राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युगसापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए।

उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सवल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए।

‘विद्यार्थी कल्याणसम्बन्धी कार्यहरु विस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ।

विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीहरुसँग सहकार्यको आवश्यक पर्दछ, उनले भने, विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास, रुपान्तरणमा सहयोगी हुनुपर्दछ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *