सेयर बजार सोमबार दोहोरो अंकले ओरालो, बजार घट्नुमा तरलता नै मुख्य कारक
Published: (Updated: )
by .काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १७.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३५८.८१ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरेले तरलताकै कारण सेयर बजार बढ्न नसकेको बताउँछन्। ‘बैंकमा पैसा छैन, लगानीकर्ताहरुले सेयर धितो राखेर ऋण लिन पाएका छैनन्’, उनले भने, ‘तरलता सहज बन्दै गएमा र सेयर धितो राखेर ऋण उपलब्ध हुन थालेपछि बजारले लय समात्छ।’
आजको घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘अझै पनि धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘यो क्रम पुस १५–२० गतेसम्म चल्ने देखिन्छ।’
बजारमा ठूलो कारोबार नहुनुले धेरै लगानीकर्ताले घट्दो बजारमा घाटा सेयर बेच्न नचाहेकोजस्तो देखिने घिमिरे बताउँछन्। ‘अहिले बजारमा सेयर उठाउने अवसर छ, त्यसैले सकभर सेयर उठाउने हो, नभएर आफूसँग भएको सेयर होल्ड गरेर राख्ने हो’, उनले भने, ‘अहिले नै आत्तिएर बजारबाट बाहिरिनुपर्ने अवस्था छैन।’
सक्रिय लगानीकर्ता केशव कोइराला (काका)को बजारप्रतिको धारणा पनि घिमिरेकै जस्तो छ। उनी पनि अन्य कारणले भन्दा पनि तरलताकै कारण बजारमा सामान्य असर परेको बताउँछन्। ‘
यही कारणले ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न उचित समयको प्रतीक्षामा बसेको देखिन्छ’, उनले भने, ‘ठूला लगानीकर्ता प्रवेश गरेपछि बजार बढ्न सक्छ।’
केही समय बजार अझै साइडवेजमै चल्ने कोइरालाको भनाइ छ। ‘अहिले बैंकहरुको सेयरभाउ सस्तो रहेकोले राम्रा र बलिया कम्पनीको सेयर उठाएर राख्दा फाइदा हुन सक्छ’, उनले भने, ‘अहिले बजारमा खरिदको अवसर पनि छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामधये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह ३.५२ प्रतिशतले बढ्दा लघुवित्त समूहमा ०.१४ प्रतिशतको बढोत्तरी भएको छ।
आज विकास बैंक समूह सर्वाधिक २.२३ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४८ प्रतिशत, व्यापार समूहमा ०.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५६ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, वित्त समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६७ प्रतिशत, जीवन बीमा समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९ प्रतिशत र लगानी समूहमा ०.५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२।६१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक १९ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १८ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज कृषि विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ३६ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ७ करोड ५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ४४ लाख रुपैयाँ, एचआईडीसीएलको ५ करोड ४२ लाख रुपैयाँ, अपी पावरको ५ करोड ३८ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड २८ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
Comments