प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत: अर्को बैठक पुस १८ गते बस्ने
Published:
by .काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। बुधबारको बैठकमा प्रस्तुत भएका चार अध्यादेश बहुमतले स्वीकृत भएका हुन्।
गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेश स्वीकृत भएका हुन् ।
बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ’समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ’रेवले अध्यादेश, २०७८’ स्वीकृत भएका हुन्।
बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेकबा थिए । तर, सो प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै चारै विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए ।
अध्यादेशविरुद्धको सूचनाका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्कीले सङ्घीय मुलुकको राजधानी काठमाडौँमा सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने भएकाले प्रहरीसम्बन्धी अध्यादेश ल्याइएको बताएका थिए ।
सञ्चारमन्त्री कार्कीले सबै अध्यादेश तत्काल कार्यान्वयनमा आवश्यक भएकाले सरकारले पेश गरेको बताएका थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे बोर्ड गठनलगायत कामका लागि ‘रेल्वे अध्यादेश, २०७८’ आवश्यक रहेको बताइन् ।
सांँसद सुवालले प्रदेशमा भागबण्डाका लागि धेरै मन्त्री नियुक्त गरिएको जनाउँदै प्रमुख प्रतिपक्षले संसदमा उठाएका मागबारे सम्बोधन गरिनुपर्ने माग गरे ।
उनले सभामुखले विरोधबीच बैठक सञ्चालन गर्ने र प्रमुख प्रतिपक्षले पनि विरोधबीच बैठक सञ्चालन गर्न दिने कार्यले लोकतन्त्रलाई सबल नबनाउने टिप्पणी गरे ।
उनले न्यायालयमा विकृति देखिएको, विवादित एमसिसी सम्झौताबारे सरकार स्पष्ट नभएको र विभिन्न शिक्षण संस्थामा चिट चोराइएको भन्ने घटनाको छानबिन नभएको बताए ।
प्रतिनिधिसभाको अर्को बैठक यही पुस १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
Comments