एमाले संसद् अवरुद्ध गरेर संसद विघटनलाई बैधानिकता दिने प्रयासमा : अध्यक्ष दाहाल
Published: (Updated: )
by .काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले गरिरहेको संसद् अवरोधलाई गाईजात्राको संज्ञा दिएका छन्।
शनिबार केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेको गतिविधि लोकतन्त्रविरोधी, निरंकुश, हास्यास्पद र लज्जास्पद भएको बताए।
सर्वोच्चको फैसला छ। निर्वाचन आयोगको फैसला छ, एउटा पार्टीलाई मान्यता दिएको छ। अब प्रमुख प्रतिपक्षी भनिएको एमाले गुटचाहिँ दिनदिनै अवरुद्ध गर्ने, नाराबाजी गर्ने गरेको छु, उनले भने, कहीँ कतै नाटक गर्ने ठाउँ संविधान, ऐन कानुन, निर्वाचन आयोग, सर्वोच्च अदालत दिएको छैन्।
तर, एमाले गुटचाहिँ यो प्रतिनिधि सभा काम छैन भन्ने साबित गर्नको लागि मात्रै, पहिला आफैंले दुईपटक गरेको विघटन ठीकै हो भन्ने बनाउनका लागि सदन चल्न दिइरहेको छैन।
उनले संसद् अवरोध गर्ने कामलाई प्रतिगमनकै निरन्तरताको रुपमा व्याख्या गरे। यो प्रतिगमनकै निरन्तरता हो भनेर हामीले पाँच दलभित्र अझ मजबुत एकता बनाउनतिर मेहनत गरिरहेका छौं, उनले भने, तर संविधान खारेज गर्न चाहने, परिवर्तन उल्ट्याउन चाहने तत्वहरु यो गठबन्धन टुटाउन लागिरहेका छन्।
एमालेले गठबन्धन टुटाउन जे पनि गर्ने भनिरहेको अध्यक्ष दाहालले बताए। तपाईंहरुले सुन्नुभएको होला, यदि कांग्रेसले गठबन्धन टुटाउन तयार हुने हो भने हामी एकलौटी कांग्रेसको सरकार बनाउन दिन्छौं, फ्लोरबाट समर्थन गर्छौं भन्ने वक्तव्य आइरहेको छ।
गठबन्धन टुटाउन कांँग्रेस तयार हुने हो भने एमसीसीमा हामी समर्थन गर्छौं, तयार नहुने हो भने के हो, के हो भन्नेखालको वक्तव्य आइरहेको छ, अध्यक्ष दाहालले भने।
एमालेको सर्तलाई उनले अराजनीतिक र अनैतिक भने। पार्टीहरुले आफ्नो विचार आफैं बनाउने हो नि। आफ्नो सिद्धान्त पो भन्ने हो, उनले भने।
Comments