Sajhamanch Archive

ताप्लेजुङको घुन्सा र ओलाङ्चुङगोलामा हिमपात, चिसाले जनजीवन प्रभावित

Published: in प्रदेश तह, समाज, by .

ताप्लेजुङ, ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा शुक्रबारदेखि शुरु भएको हिमपात अहिले जारी रहेको छ । स्थानीयका अनुसार उच्च डाँडाकाँडासहित हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा हिमपात जारी रहेको हो ।

जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर)मा शनिबार विहानैदेखि हिउँ पर्ने क्रम जारी रहेको छ ।

त्यस्तै ओलाङ्चुङगोला, फक्ताङ्लुङकै वडा नं। ६ लेलेपको घुन्सा (३,४०० मिटर) र फले (३,१५० मिटर) मा पनि विहानैदेखि हिउँ परिरहेको स्थानीयले बताएका छन् ।

ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार शुक्रबारदेखि त्यहाँ हिमपात शुरु भएको हो । शुक्रबार साँझ अबेरसम्म ओलाङ्चुङगोलामा हिउँ परेको थियो भने शनिबार विहानदेखि पुनः शुरु भएको वालुङले बताए ।

उनका अनुसार ओलाङ्चुङगोला बस्तीमा अहिले करिव आधा फिटसम्म हिउँ जमिसकेको छ । विहानैदेखि सामान्य रुपमा हिउँ परिरहेको उनले जानकारी दिए ।

यस्तै घुन्साका स्थानीय पेमा शेर्पाका अनुसार घुन्सा र नजिकैको फले बस्तीमा पनि शनिबार बिहानै देखि हिउँ पर्ने क्रम जारी रहेको छ ।

घुन्सामा निक्कै बाक्लो हिउँ परिरहेको शेर्पाले बताए । उनले विगतको अनुभव अनुसार हिउँपर्ने मौसम लम्बिने छाँटकाँट रहेको बताए । उनका अनुसार घुन्सा र फलेमा पनि करिव आधा फिट हिउँ जमेको छ ।

यसरी जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो निक्कै बढेको र चिसाले जनजीवन प्रभावित बन्दै गएको छ ।

हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा र फले लगायतका बासिन्दा न्यानो कपडा लगाउनुका साथै आगो तापेर घरभित्रै बस्दै आएका स्थानीयको भनाइ छ ।

त्यहाँका सर्वसाधारण आवश्यक काम परेमा मात्र घरबाहिर निस्कने गरेका उनीहरु बताउँछन् । यता तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि सामान्य हिउँ परिरहेको बताइएको छ ।

उच्च हिमाली क्षेत्रमा हिउँ परेपछि साथै अहिले पनि हिमपात जारी रहँदा जिल्ला चिसो भने ह्वात्तै बढेको छ । चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारमा चहलपहलसमेत निक्कै कम भएको छ ।

उता पाथीभरा क्षेत्रमा हिमपात भए पनि शनिबार बिहानैदेखि तीर्थयात्री भने दर्शन गर्न गइरहेका छन् । देवीको दर्शनसँगै हिउँमा रमाउने ९खेल्ने० उद्देश्यले तीर्थयात्री चिसोको वास्ता नगरी पाथीभरा जाने गरेको पाइएको छ ।

फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार हेलिकप्टर र स्थलमार्ग हुँदै तीर्थयात्राी पाथीभरा गएका छन् । शनिबार बिहानै सदरमुकामदेखि तीर्थयात्री बोकेर हेलिकप्टरले चार उडान भरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *