Sajhamanch Archive

यस्ता निर्णय गर्दै सकियो काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी दिने, पार्टीलाई एकतावद्ध गराउने, १४ औँ महाधिवेशनका सहयोगी र निर्वाचित पदाधिकारीलाई बधाई दिने निर्णय भएको महामन्त्री थापाको भनाइ छ ।

‘राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवार खडा सम्बन्धनमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ’, बैठकपछि महामन्त्री थापाले भने, ‘सँगै आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने, विवरण अध्यावधिक गर्ने सम्बन्धमा पार्टीका मुख्यसचिव पौडेलको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ ।’

आगामी दिनमा इतिहासले सुम्पेको अभिभारा र दायित्वलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढाउने निर्णयसमेत भएको महामन्त्री थापाले बताए ।

उत्साह, एकता र रुपान्तरणको मर्म अनुरुप महाधिवेशन सम्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले १४ औं महाधिवेशनमा सहयोग पुर्‍याउने निर्वाचन समिति र सञ्चारमाध्यम सबैलाई धन्यवाद दिएको छ ।

महामन्त्री थापाका अनुसार बैठकमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरेका थिए । पहिलो बैठक केही औपचारिक र केही अनौपचारिक निर्णय गर्दै सम्पन्न भएको महामन्त्री थापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *