Sajhamanch Archive

प्रदेश २ को नामकरणमा मधेस र मिथिला भन्नेमा विवाद

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

जनकपुरधाम– प्रदेश २ को नामकरणका प्रदेशसभामा फेरि एकपटक प्रक्रिया सुरु गरिएको छ। राजनीतिक दलहरुले प्रदेशसभामा नामका प्रस्ताव प्रस्तुत गरिसकेका छन्। प्रदेशसभा बैठकमा प्रदेशको नाम तोक्न ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएको हो।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।

अर्को सत्तारुढ दल नेपाली कांँग्रेसले प्रदेशको नामका लागि ‘मिथिला–भोजपुरा’ प्रस्ताव पेस गरेको छ भने कांँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्यमधेस’ प्रस्ताव पेस गरेका हुन्।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ।

तर, प्रदेशको नामकरणका लागि मधेस र मिथिलाबीचको अन्तर्विरोध सबैभन्दा बढी देखिएको छ। मधेसका पक्षमा उभिएका दलहरु प्रदेशका नाम मिथिला स्वीकार्न नसक्ने अडानमा छन् भने मिथिलाको वकालत गर्नेहरु प्रदेशको नाम यो भूमिको प्राचिनता तथा भाषासंस्कृतिलाई टेकेर मिथिला नै राख्नुपर्ने अडानमा छन्।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ। यही अन्तरविरोधका बीच प्रदेश २ को नामकरण विगत ४ वर्षदेखि अडकिएको छ।

एक पटक त प्रदेशसभामा नाम र राजधानीका लागि भएको मतदान गरेर टुंगो लगाउने प्रयास पनि विफल भइसकेको छ। एकपटक फेरि प्रदेशसभामा प्रयास सुरु भएको छ, तर पुरानै अन्तरविरोध कायमै छन्।

प्रदेशसभामै प्रदेशसभा सदस्यहरुको गैरजिम्मेवार वक्तव्य

प्रदेश २ को प्रदेशसभामा प्रदेशको नामभन्दा अगाडि राजधानीको प्रस्ताव पनि पेस भएको थियो। राजधानीको प्रस्ताव माथिको छलफल समाप्त भएलगत्तै नाममाथिको छलफल पनि भयो।

जसमा भाग लिँदै प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए। उनले प्रदेशसभाको रोस्टमबाट बोल्दै यदि यो प्रदेशको नाम मधेस प्रदेश भएन भने राजधानी जनकपुरधाम पनि हुन दिँदैनौं ।

उनी यतिमै सीमित भएनन्। उनले भने, ‘तपाईंहरुलाई प्रदेशको नाम मधेस मन पर्दैन भने मलाई पनि जनकपुर मन पर्दैन।’

राज्यमन्त्री यादव गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहँदा ऐतिहासिकतालाई तोडमोड गरेर प्रदेशसभामा आफ्नो मन्तव्य राखिरहेका थिए। उनले बिना कुनै तर्क नेपालको अहिलेको मधेस भू–भागको चर्चा महाभारतमा समेत रहेको दाबी गरे।

अर्का प्रदेशसभा सदस्य सुरेश मण्डलले समेत मिथिलाको भाषिक पहिचानबाहेक अरु केही नरहेकाले मधेस यो प्रदेशका लागि उपयुक्त र निर्विकल्प नाम हुने दाबी गरे।

मिथिलाको आफ्नो अलग्गै राज्य नभए पनि यसको भाषासंस्कृति रहेको राजनीतिक विश्लेषक एवं मैथिलीका साहित्यकार रोशन जनकपुरी बताउँछन्।

मण्डलले मधेसलाई राष्ट्र र राष्ट्रियतासँग जोडेर समेत अभिव्यक्ति दिए। तर, जनकपुरीले इतिहासको कुनै कालखण्डमा मधेस कुनै राष्ट्र नै थिएन दाबी गर्छन्।

मधेस शब्दको ऐतिहासिकता

मधेस शब्दको पहिलो पटक चर्चाको विषयमा सबैलाई जिज्ञासा लाग्न सक्छ। ‘मध्य देश’बाट अपभ्रंश भएर मधेस शब्द आएको विद्वानहरुको तर्क छ।

मधेसको चर्चा नेपालको इतिहासमा हेर्ने हो भने सयौं वर्षदेखि हुँदै आए पनि तात्कालीन सदभावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले मधेसका लागि उठाउँदै आएको आवाज र माओवादी सशस्त्र विरोधपछि मात्रै मधेस बढी चर्चामा आयो। जसलाई पछि विभिन्न मधेसी दलहरुले आन्दोलन गरेर स्थापित गर्न सफल भए।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले मधेस कहिल्यै पनि राष्ट्र नभएको र यस्तो तर्क हावादारी रहेको दाबी गर्छन्। मधेश संस्कृतको शब्द मध्यदेशबाट जन्मेको शब्द हो। उनले भने, ‘मध्य देश कुनै देश थिएन त्यो भूखण्ड थियो जहाँ कयौं जनपद थिए।’

नेपालका सन्दर्भमा मल्लकालमा मैथिल ब्राह्मणहरु तथा कपिलवस्तु तथा नवलपरासीका ब्राह्मणहरुले शासकलाई शासन गर्न सघाउँथे। कपिललवस्तु तथा नवलपरासीका ब्राह्मणहरुलाई मध्यदेशीय ब्राह्मण भनिन्थ्यो।

जनकपुरीका अनुसार गण्डकी पूर्वका भागलाई मिथिला, तिरहुत, विदेह आदि नामले चिनिन्थ्यो भने गण्डकीभन्दा पश्चिमको भागलाई मध्यदेशका रुपमा चिनिन्थ्यो।

त्यो समयमा त्यस क्षेत्रका लागि मध्यदेश साझा भौगोलिक पहिचानका रुपमा मात्रै थियो। यस हिसाबले अहिले मधेशको रुपमा दाबी गरिएको भूभागलाई मधेसका रुपमा लिनै नसकिने तर्क गर्छन्।

पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा मध्यदेशीय ब्राह्मणहरुको वर्चस्व बढ्दै गयो। त्यसपछि उनले पहाडभन्दा तलका सबैलाई मधेसी देख्न थाले। त्यपछि नेपालमा पनि मधेस शब्द प्रयोगमा आउन थालेको जनकपुरी बताउँछन्।

उनका अनुसार पृथ्वीनारायण शाहको शासनको समयमा कुमारीचोक अड्डा थियो जसले आर्थिक तथा प्रशासनिक काम हेर्ने गथ्र्यो। जसअन्तर्गत उपत्यका, पहाड र मधेस त्यसका अड्डा थिए।

मधेसअन्तर्गत पूर्वी मधेस र पश्चिम मधेस पनि थियो। जहाँबाट तराईका सबैलाई मधेसी भनेर राज्यबाट हेपाइ सुरु भएको उनको भनाइ छ। मधेस बढी चर्चामा आए पनि मैथिलहरुको संस्कृति भने मजबुत रुपमा उपस्थित नै थियो।

के हुन सक्छ समाधान ?

राजनीतिक विश्लेषक जनकपुरी प्रदेश २ सरकार प्रदेशको नामकरणका लागि गम्भीर नरहेको आरोप लगाउँछन्। उनका अनुसार सबै अन्तरविरोध समेटेर प्रदेश नामकरण गर्दा समस्या नरहने उनको भनाइ छ।

उनी भन्छन्, ‘मधेसी दलहरुमा उन्माद छ, उन्मादको बलमा प्रदेशको नामकरण गर्नु हुँदैन। अन्य पहिचानलाई लिएर फेरि समस्या बल्झिन सक्छ।’

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। जनकपुरीले मिथिला भोजपुराका पक्षमा वकालत गर्नेहरुलाई पनि लचकता अपनाउनुपर्नेमा जोड दिए।

नामकरणमा देखिएको विवाद समाधानका लागि यो प्रदेशको नाम मिथिला भोजपुरा मधेस भन्दा राम्रो विकल्प हुन नसक्ने उनको सुझाव छ। मिथिलाको साटो तिरहुत, विदेह आदि के राख्ने विषयमा बहस गर्न सकिने उनको भनाइ छ।

प्रदेशसभामा अंकगणित

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई तोक्न सत्तारुढका साथै प्रतिपक्षी दलहरु एकमत रहे पनि नामबारे सत्तारुढ दलभित्रै फरक मत देखिएपछि यथास्थितिमा प्रस्ताव पारित हुने सम्भावना एकदमै झिनो छ।

सरकारको नेतृत्व गरिरहेको जसपाले प्रस्ताव गरेको ‘मधेस प्रदेश’ लाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।

यसअघि ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको अर्का सत्तारुढ दल माओवादी केन्द्रले पनि जसपालाई सघाउँदै ‘मधेस प्रदेश’ नै प्रस्ताव गरेको छ। प्रदेशको नाम तोक्न दुई सत्तारुढ र प्रमुख प्रतिपक्षी दल एकै ठाउँमा उभिए पनि दुई तिहाइ संख्या पुर्‍याउन भने सकस पर्ने देखिन्छ।

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश २ प्रदेशसभामा सभामुखसहित १०४ जना छन्। दुई तिहाइको संख्या पुर्‍याउन कम्तीमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।

जसपासँग सभामुख र उपसभामुखसहित ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ प्रदेशसभा सदस्य छन्। सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउनेछन्। सभामुखबाहेक जसपा, लोसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुको संख्या जोड्दा ६२ पुग्छ।

एक प्रदेशसभा सदस्यहरु रहेको नेपाल संघीय समाजवादी पार्टीले मधेसमै समर्थन गर्ने देखिएको छ। यसरी हेर्दा मधेसका पक्षमा ६३ मत पुग्छ। त्यो दुई तिहाइको संख्याभन्दा सात मत कम हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *