Sajhamanch Archive

महासचिवमा चर्को दाबेदारीले पदाधिकारी चयन होल्डमा, अध्यक्ष र केन्द्रीय समिति मात्र चयन हुने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  नेकपा (माओवादी केन्द्र)को आइतबारदेखि काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भनिए पनि त्यसमा केही कुरा पूर्वनिर्धारित जस्तै थिए।

जस्तो कि, अध्यक्षमा पुष्पकमल दाहाल  नै दोहोरिने निश्चित थियो। किनभने, दाहालको विकल्प दाबी गर्ने कोही नेता तयार नै थिएनन्।

महाधिवेशनअघि नै माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी हुने तय गरेको थियो जसमा एकजना वरिष्ठ उपाध्यक्षको पद थियो। वरिष्ठ उपाध्यक्ष पनि दाहालपछिको वरीयतामा रहेका नारायणकाजी श्रेष्ठकै लागि सिर्जना गरिएको पद थियो।

यसबाहेकका बाँकी पदाधिकारीको व्यवस्थापन पनि संख्याका हिसाबले त्यति कठिन थिएन। किनभने, माओवादीमा अहिले स्थायी समितिमा कूल १६ जना नेता रहेकाले पदाधिकारीका बलिया दाबेदार उनीहरु नै थिए।

संख्याका हिसाबले पनि यसलाई व्यवस्थापन गर्न सहज थिएन। तर, यति हुँदाहुँदै पनि माओवादी महाधिवेशन अध्यक्ष र केन्द्रीय समितिबाहेक अन्य पदाधिकारी टुंगो नलगाएरै सम्पन्न हुने तारतम्यतर्फ जुटेको छ।

अध्यक्ष दाहालनिकट नेताहरुको भनाइलाई आधार मान्ने हो भने महाधिवेशनबाट पदाधिकारीको टुंगो लाग्ने छैन।

त्यसको कारण हो, महासचिव पद। माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिव बन्न जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल तीनै जना प्रबल दाबेदारीमा देखिएका छन्।

महासचिवमा दाबी गरिरहेका यी तीनबाहेक अरु नेतालाई पदाधिकारीका अन्य पदमा व्यवस्थापन गरे सजिलै दाबी छोड्ने देखिए पनि शर्मा, पुन र भुसाल दाबेदारीबाट पछि हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन।

माओवादीको आठौं महाधिवेशन आगामी बिहीबार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम छ। तर, मंगलबार बन्दसत्रका सबै कार्यक्रम समूहगत छलफलमै केन्द्रित रहे।

अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूहमा भइरहेको छलफल बुधबार पनि जारी रहने माओवादीले जनएको छ।

अध्यक्ष दाहालले बिहीबार समूहगत छलफलको रिर्पोटिङ सुनेर त्यसको जवाफ दिने तयारी छ। त्यसपछि मात्र केन्द्रीय समिति र पदाधिकारी चयनको प्रक्रिया सुरु हुनेछ।

माओवादीले महाधिवेशनमा आएका प्रतिनिधिबाट सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी २९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गर्ने तयारी गरेको छ।

अध्यक्ष दाहालनिकट एक नेताका अनुसार महाधिवेशन हलबाट केन्द्रीय समिति मात्र चयन गर्ने तयारी छ। केन्द्रीय समिति चयन भएपछि लगत्तै केन्द्रीय समितिबाट अध्यक्ष र पदाधिकारी चयन गर्ने तयारी गरिएको छ। ‘

महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति (सर्वसम्मत) चयन गरिसकेपछि केन्द्रीय समितिबाट सर्वसम्मत रुपमै अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढ्छ।

त्यसपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जाने हो,’ ती नेताले भने, ‘अध्यक्ष को हुने भनेर कुनै विवाद नभएकाले त्यहाँबाट सर्वसम्मत रुपमा दाहाल चयन हुनुहुन्छ।

त्यसपछि सर्वसम्मत पदाधिकारी चयन गर्ने अवस्था भएमा पदाधिकारीको टुंगो लाग्छ। सर्वसम्मत हुन नसक्ने अवस्थामा अहिले पदाधिकारीको टुंगो लाग्दैन।’

पदाधिकारीको टुंगो सर्वसम्मत रुपमा लाग्न नसकेमा महाधिवेशन सकिएपछि केन्द्रीय समितिले मतदानबाटै भए पनि पदाधिकारी टुंगो लगाउने ती नेताले दाबी गरे। तर, त्यो समय कति पछि हुन्छ भन्ने अहिले नै केही टुंगो छैन।

कतिपय नेताहरुले भने महाधिवेशनबाट क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माणमा लाग्ने भएकाले सकेसम्म सर्वसम्मत पदाधिकारी आउने पनि बताइरहेका छन्।

तर, महासचिव पदकै कारण त्यो सम्भावना निकै कम रहेको प्रचण्डनिकट नेताहरु बताउँछन्। महासचिवका सशक्त दाबेदार वर्षमान पुन चीनमा उपचाररत रहेकाले अहिल्यै पुनलाई छाडेर सर्वसम्मत वा निर्वाचन गर्ने पक्षमा दाहालसमेत देखिएका छैनन्।

माओवादीमा अप्ठ्यारो परिस्थितिमा सधैँ आफूलाई साथ दिएका पुन यसै पनि दाहालले रुचाएका नेता हुन्। त्यसमाथि पार्टीलाई बलियो बनाउन सबै प्रभावशाली नेतालाई चित्त बुझाएर लैजानुपर्ने बाध्यता उनलाई छ।

त्यहीकारण पुन चीनबाट स्वास्थ्यलाभ गरेर फर्केपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जान सकिने प्रचण्डनिकट अर्का एक नेताले बताए।

पुनको स्वास्थ्य पहिलेभन्दा सुधार भएको छ। उनी पूर्णरुपमा निको भएपछि मात्र फर्कने भनेर महाधिवेशनमा सहभागी हुन आउन सकेनन्।

तर, चीनमै रहेर पनि उनले महासचिवमा आफ्नो दाबेदारी देखाइरहेका छन्। दाहालसहितका नेताहरुसँग उनले नियमित सम्पर्क गरिरहेका छन् भने चीनमै मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका नेतालाई भेटेर उनले आफ्नो दाबेदारीको थप बलियो सन्देश पनि नेपाल पठाएका छन्।

पुननिकट एक नेताले महासचिवका लागि पुनले चीनबाटै निरन्तर अध्यक्ष दाहालसहितका नेताहरुसँग लबिइङ गरिरहेको बताए। त्यसक्रममा उनले चीनबाट फर्केपछि आफू पहिलेकै जस्तो सक्रिय हुने विश्वाससमेत दाहाललाई दिलाएको ती नेताले बताए।

उनका प्रतिस्पर्धी देखिएका जनार्दन शर्मा र पम्फा भुसालले भने महाधिवेशनमै माहोल बनाइरहेका छन्। शर्माले आफू महासचिव बन्ने निश्चित भइसकेको भन्दै त्यसको घोषणामात्र बाँकी रहेको सन्देश सञ्चारमाध्यममार्फत् समेत प्रवाह गरिरहेका छन्।

त्यस्तै, भुसालनिकट नेताहरुले दाहालको भरोसा भुसालले पाएको चर्चा गरिरहेका छन्। वर्षमानजी चीनबाट फर्केपछि मात्र सर्वसम्मत वा मतदान जसरी भए पनि महासचिव टुंग्याउनुपर्छ भन्ने पक्षमा प्रचण्ड हुनुहुन्छ, प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने।

तर, स्थायी समिति सदस्य गणेश साहले भने सबै क्लस्टरबाट न्यायोचित प्रतिनिधित्व हुनेगरी केन्द्रीय समिति चयन भएपछि पदाधिकारी चयन प्रक्रियामा जाने दाबी गरे।

अध्यक्षसहित पदाधिकारी सर्वसम्मत नभएमा केन्द्रीय समितिबाट निर्वाचन हुने भन्दै उनले महाधिवेशन सकिएपछि पदाधिकारी चयन गर्दा बाहिर राम्रो सन्देश नजाने भएकाले तत्काल सर्वसम्मत वा निर्वाचन जुनसुकै प्रक्रियाबाट भए पनि पदाधिकारी चयन हुनुपर्ने उनले बताए।

तर, प्रचण्ड स्वयं नै अहिले त्यो पक्षमा नरहेकाले महाधिवेशनबाट अध्यक्षबाहेकका पदाधिकारी चयन हुने सम्भावना निकै कम छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *