Sajhamanch Archive

नयाँ वर्षमा भारतीय पर्यटकले भरियो जनकपुर

Published: in प्रदेश तह, विविधा, समाज, by .

जनकपुर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ।

अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुआत सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ।

शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भीड लागेको छ।

भारतीय गाडीहरुको चाप बढेको छ। महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुर आएका छन्।

कोरोनाका कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यको मात्रै नभइ अन्य प्रान्तबाटसमेत जनकपुरमा पर्यटकहरुको भीड देखिएको छ।

नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन्।

त्यसैगरी, मरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन्।

नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन्। अहिले जनकपुरका होटलहरु पर्यटकले भरिभराउ भएका छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तिन चार वर्षपछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुसी व्यक्त गरे।

अहिले भारतीय गाडीको चापसमेत अत्यधिक बढेको छ। भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ।

सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ।

सीताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्याधिक रुपमा आउने गरेका छन्। नयाँ वर्षमा धेरै पर्यटक आएका कारण यहाँको व्यापार व्यवसासमेत बढेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *