Sajhamanch Archive

गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा सदस्य पदमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ।

समितिका संयोजक कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवार विजयी गराउन मतदाताहरूलाई अपिल गर्दै यसका लागि सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने र राष्ट्रिय सभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि माघ १२ गते निर्वाचन हुँदै छ भने यसका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

साथै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही पुस २५ देखि हुन लागेको भारत भ्रमणका लागि शुभकामना दिएको छ।

यसैबीच समन्वय समितिका संयोजक एवं कांँग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग गरेको भेटवार्ताका विषयमा पनि बैठकमा छलफल भएको छ।

पौडेलले बुधबार ओलीलाई भेटेर एमालेले जारी राखेको संसद् अवरोध खुलाउन आग्रह गरेका थिए।

बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा संयोजक पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *