Sajhamanch Archive

हुवासिन सिमेन्टले सुरु गर्यो परीक्षण उत्पादन

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by .

धादिङ, यहाँ निर्माण भएको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको छ ।

चिनियाँ कम्पनी हुवासिन सिमेन्ट कम्पनीले आफ्नो उत्पादन गरेको ११५ वर्ष मनाइरहेको समयमा नेपालमा सोही ब्रान्डको सिमेन्ट उत्पादन सुरु गरेको हो ।

धादिङ जिल्लाको बेनीघाट ताल्चीमा रहेको उद्योगमा शनिबार ११५ जना कामदारले संयुक्त रूपमा उत्पादन सुरु गरेका हुन् । पोखरेलका अनुसार यो उद्योगबाट व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्नेछ ।

डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही समय ढिला भएको पोखरेलले बताए ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । हुवासिन सिमेन्ट नेपालले ओपीसी र पीपीसी गरेर दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ ।

आफ्नै उच्च गुणस्तरको चुनढुङ्गा खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ । हुवासिन सिमेन्ट उत्पादनसँगै नेपालको सिमेन्ट बजारमा गुणस्तरको परिवर्तनको महसुस सबैले गर्ने विश्वास कम्पनीको रहेको छ । नेपाली बजारमा हुवासिन सिमेन्ट आउनेबित्तिकै गुणस्तरमा प्रतिस्पर्धा सुरु हुनेछ ।

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । अत्याधुनिक कम्प्युटर प्रविधि ९सीसीआर०बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्ने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिङ्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भीआरएम०)प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने सञ्चालकको भनाइ छ । भीआरएम अत्याधुनिक प्रविधि हो ।

वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्यत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो ।

उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्विचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्विचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भएपनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमित रूपमा बिजुली उपलब्ध भएको छ ।

प्रसारण लाइन निर्माणका लागि करिब एक अर्ब रुपियाँ खर्च भएको छ । प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुपइन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ ।

सो स्विचिङबाट सिमेन्ट उद्योगले कुल २० मेगावाट विद्युत् लिनेछ । निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको पोखरेलको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिसरसम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो ।

कोरोना कहर, प्राकृतिक विपत्तिलगायतका कारण उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रुपियाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढेको बताइएको छ ।

नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

२०७५ असार ६ गते बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि स्थानीय समस्यालगायतका कारणले समय लागेको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बोर्डको अनुमान छ ।

२०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपियाँ बराबरको लगानी
गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *