दशबुँदे समूहको प्रभाव भएका जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयनमा सकस
Published:
by .काठमाडौं- पुस २३ गते एकसाथ उद्घाटन भएका नेकपा एमालेका ६१ जिल्लामध्ये अझै केही जिल्लाको अधिवेशन जारी छ। सोमबार बेलुकासम्म ५६ वटा जिल्लामा नेतृत्व चयन भएको छ। अधिकांश जिल्लामा सर्वसम्मत र केहीमा निर्वाचन भएको हो।
नेतृत्व टुंगिएका केही र बाँकी जिल्लाको विश्लेषण गर्दा अध्यक्ष ओलीइतर समूह प्रभावशाली रहेको जिल्लामा नेतृत्व टुंग्याउन सकस देखिएको छ।
विगतमा ओलीइतर समूहमा रहेका दुईजना मात्रै अध्यक्ष निर्वाचित भएका छन्। भोजपुरका शरणकुमार राई सर्वसम्मत भए भने बागलुङका हिराबहादुर केसीले चुनाव नै जिते।
माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ुबादलु समूहका एक जना अध्यक्षमा चुनिएका छन्। स्याङ्जा जिल्ला अध्यक्षमा एमाले सचिव पद्माकुमारी अर्यालको सहयोगमा सूर्यप्रसाद गैह्रे ९पारस० निर्वाचित भएका हुन्। बादल पक्षका धेरै नेताहरुले उपाध्यक्ष र सचिवमा चित्त बुझाएका छन्।
बागमती : चितवन र सिन्धुपाल्चोक बाँकी
एमालेको दशौं राष्ट्रिय महाधिवेशन भएको चितवनमा दशबुँदे समूहका एक उपाध्यक्ष सुरेन्द्र पाण्डे छन्। त्यही जिल्लाले एमाले महाधिवेशनको सिको गर्न सकेन। अध्यक्षका आकांक्षीबीच सहमति जुटाउने क्रममै अधिवेशन स्थगित भएको छ।
एमाले चितवनको नेतृत्वका लागि चार नेताहरु आकांक्षी छन्। नेताहरु तेजेन्द्र खड्का, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने र कमल पाठकले अध्यक्षको दाबी गरेका छन्।
चारमध्ये अन्तिमसम्म तात्कालीन समानान्तर कमिटीका अध्यक्षसमेत रहेका खड्का र न्यौपानेमध्ये एकलाई अध्यक्ष बनाउनुपर्ने दबाब नेताहरुमाथि छ।
नेतृत्व टुंगिन बाँकी बागमती प्रदेशको अर्को जिल्ला हो, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक पनि एमालेको १० बुँदे पक्षधर नेताहरुको प्रभाव रहेको जिल्ला हो। माधव नेपाल एमालेमै रहँदा उनको पकड थियो र उनी पक्षका नेता प्रभावशाली थिए।
नेपाल पार्टीबाट बाहिरिँदै गर्दा उनीनिकटकै नेता शेरबहादुर तामाङ ओली पक्षमा लागे। तर, जिल्लामा भने अझै ओलीइतर समूहको प्रभाव छ।
सिन्धुपाल्चोकमा दुवै समूहका दुई-दुईजनाले अध्यक्षमा दाबी पेश गरेका छन्। १० बुँदे समूहतर्फका केदार क्षेत्री र कमल नेपाल, अध्यक्ष ओलीतर्फका होमनारायण श्रेष्ठ र बालकृष्ण देउजाले नेतृत्वको दाबी गरिरहेका छन्।
उनीहरुबीच सहमति हुन नसकेपछि अधिवेशन अझै केही दिन लम्बिने संकेत देखिएको छ। कोरोनाको प्रभाव बढ्दो रहेका कारण नेतृत्व चयन नगरी स्थगित हुनसक्ने आकलन समेत प्रतिनिधिहरुले गरिरहेका छन्।
बामगतीका धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, रसुवामा कर्णेल तामाङ, रामेछापमा आनन्दकुमार श्रेष्ठ, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ, काठमाडौंमा दीपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, सिन्धुलीमा कुमारबहादुर कार्की, दोलखामा नरबहादुर श्रेष्ठ अध्यक्ष चयन भएका छन्।
प्रदेश १ : भट्टराई र आचार्यको जिल्लामा निर्वाचन
प्रदेश १ को जिल्ला संखुवासभामा आइतबार मात्रै अधिवेशन सुरु भएको छ। नेतृत्व टुंगिन बाँकी अर्को जिल्ला सुनसरी पूर्वमुख्यमन्त्री तथा १० बुँदे पक्षधर नेता भीम आचार्यको जिल्ला हो।
सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन गरिएको छ। ओली पक्षधर रेवतीरमण भण्डारी, १० बुँदे पक्षधर आचार्यको समर्थनमा वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरीका मेयर द्वारिकालाल चौधरी मैदानमा छन्।
तात्कालीन नेकपा विभाजित हुँदा ओली पक्षले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो। पछि सर्वसम्मतिमा जिल्ला अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको थियो।
१० बुँदै पक्षधर नेता एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा पनि सहजै नेतृत्व चयन हुन सकेन। निर्वाचन प्रक्रियामा जाँदा अध्यक्षमा भुपेन्द्र थेबेले जिते। भट्टराईनिकट मानिएका लबहादुर साम्सोहाङ ५६ मतले पराजित भए।
प्रदेश १ का झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङवा, पाँचथरमा राजकुमार भण्डारी, भोजपुरमा शरणकुमार राई, इलाममा महेश बस्नेत, सोलुखुम्बुमा डुफकुमार बास्तोला, उदयपुरमा प्रमेश्वर घिमिरे, ओखलढुंगामा शंकर कटुवाल र ताप्लेजुङमा भुपेन्द्रबहादुर थेबे चयन भएका छन्।
गण्डकी : ओली गुटकै प्रतिस्पर्धा
गण्डकी प्रदेशअन्तर्गतका ११ मध्ये नौ जिल्लामा भएको एमाले जिल्ला अधिवेशनबाट ७ जिल्लाको नेतृत्व चयन भएको छ। गोरखामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र केसी, लमजुङमा कृष्णप्रसाद अधिकारी, बागलुङमा हिराबहादुर केसी, पर्वतमा राजु पौडेल, नवलपुरमा मुक्ति पाण्डे अध्यक्ष चयन भएका छन्।
१० बुँदे पक्षधर बलियो रहेको बागलुङमा निर्वाचन भएको हो। निर्वाचन हुँदा दशबुँदे पक्षधर हिराबहादुर केसीले जितेका हुन्। ओली पक्षधर कृष्ण पाठकलाई उनले १ सय १ मतले पराजित गरेका हुन्।
ओलीगुटमा रहेको प्रतिस्पर्धाले पनि केसीलाई लाभ मिलेको हो। उपमहासचिव पृथ्वी सुब्बा गुरुङले केसीलाई सघाएका हुन्।
गण्डकीमा उपमहासचिव पृथ्वी सुब्बा एकातिर छन् भने सचिव पद्मा अर्याल र स्थायी कमटी सदस्य खगराज अधिकारी अर्को प्यानलमा देखिएका छन्।
नेकपा एमालेको स्याङ्जा जिल्ला अध्यक्षका लागि सूर्यप्रसाद गैरे ९पारस० निर्वाचित भएका छन्। गैरे बादलसँगै एमाले प्रवेश गरेका हुन्।
नेकपाकालमा जिल्ला अध्यक्ष बनेका उनलाई गण्डकी इन्चार्ज अर्यालको समर्थन रहेको छ। पृथ्वीसुब्बानिकट नारायण मरासिनी पराजित भएका छन्।
कास्कीमा पनि दुई जनाले अध्यक्षको दाबी नछाडेका कारण नेतृत्व टुंगिन सकस परेको हो। हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागीले दाबी गरिरहेका छन्।
निर्वाचनको तयारीसहित उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा समेत गरेका छन्। मनबहादुरलाई पृथ्वी सुब्बा गुरुङको र वैरागीलाई खगराज अधिकारीको समर्थन छ।
लुम्बिनी : अधिकांश जिल्लामा नेतृत्व चयन
लुम्बिनीमा अधिकांश जिल्लाको नेतृत्व चयन सकिएको छ। रोल्पा जिल्ला कमिटीका सचिव निमप्रसाद रोकाको निधन भएकाले स्थगित गरियो भने रुकुम पूर्व हिमाली ठाउँ धेरै भएकाले अधिवेशन गरिएन।
ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका सूर्य थापाको गृहजिल्ला प्युठानमा सहमति जुट्न सकेन। निर्वाचनबाट १० बुँदेका पक्षधर विजयबिराज विष्ट ३१४ मत ल्याउँदै विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी नेहरसिंह केसीलाई ७३ मतले पराजित गरे।
पश्चिम नवलपरासीमा पनि सहमति नजुटेपछि मतदानबाट दीपेन्द्र कार्की अध्यक्षमा निर्वाचित भए। कार्कीले २ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका थिए।
यसैगरी, कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भए। अध्यक्षका लागि भएको मतदानमा २ सय ३८ मतसहित शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका अन्य प्रतिस्पर्धीमध्ये बाबुराम खनालले १८६ तथा नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन्।
पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी, कपिलवस्तुमा डम्मर शर्मा, प्युठानमा बिजयविराज विष्ट, नवलपरासी ९पश्चिम०मा दीपेन्द्र अधिकारी चुनिएका छन्।
भीम रावल प्रभावशाली भएका जिल्लामा निर्वाचन
१० बुँदे पक्षधरका नेतासमेत रहेका भीम रावलको बढी प्रभाव रहेका दुई जिल्ला अछाम र कैलालीमा पनि सहजै नेतृत्व चयन हुन सकेन।
कैलालीमा एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट र सहइञ्चार्ज कर्ण थापाले समर्थन गरेका रतन थापा ४ मतले विजयी भएका छन्। भीम रावल पक्षधरले समर्थन गरेका रणबहादुर चन्द पराजित भएका छन्।
रावलको गृहजिल्ला अछाममा पनि सहमति जुट्न सकस परिरहेको छ। रावल पक्षधर र ओली पक्षधर प्यानल बनाएरै चुनावी मैदानमा छन्।
रावल पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उपसचिवमा प्रेमबहादुर महर र प्रेम खत्री उम्मेदवार छन्।
ओली पक्षबाट अध्यक्ष पदमा चन्द्र बोहरा, उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद, उपसचिवमा शेरबहादुर बुढा, डम्बर बिसी रहेका छन्।
बाजुरामा केन्द्रीय नेताहरुले भागबन्डामा सहमति जुटाएका छन्। अध्यक्षमा कालीबहादुर शाही दोहोरिएका छन्।
कञ्चनपुरमा नेतृत्व चयनको प्रक्रिया बल्ल सुरु भएको छ। निर्वाचन प्रक्रियामा जानु अघिसम्म पनि सहमतिका लागि प्रयास जारी राखिएको थियो। यद्यपि, सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयमा दुई वटा प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएको थियो।
निवर्तमान पार्टी अध्यक्ष वीरवहादुर थापा र सचिव सुरेन्द्र विष्ट दुईजना अध्यक्षका प्रतिस्पर्धी छन्। दुई जनाबीच सहमति गराउन शुक्रबारदेखि नै प्रयास भए पनि हुन सकेको छैन।
थापा तात्कालीन नेकपा हुँदादेखि नै अध्यक्ष हुन्। उनी नेकपा एमाले र माओवादी केन्द्र अलग बनेपछि पनि नेकपा एमालेमै रहेका थिए। र, उनलाई अध्यक्षकै जिम्मेवारी दिइएको थियो।
अध्यक्षका अर्का उम्मेदवार विष्ट नेकपा एमालेका बलिया संगठक मानिन्छन्। थापालाई एमाले सुदूरपश्चिम इन्चार्ज एवम् सचिव लेखराज भट्ट लगायतका नेताहरुले अध्यक्ष बनाउन चाहिरहेका छन्।
विष्टलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज निरुदेवी पालसहित केन्द्रीय सदस्य नरबहादुर धामी र कृपाराम रानाले अध्यक्ष बनाउन चाहेका छन्। बझाङ हिमाली जिल्ला भएका कारण अधिवेशन अर्को चरणमा हुने भएको छ।
एमाले दार्चुला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन्। उनले ५८८ मत प्राप्त गरे भने प्रत्यासी ज्ञानेन्द्र घर्तीले ९२ मत प्राप्त गरे।
कर्णालीमा सहमति र निर्वाचन दुवै
सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएको छ। डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द कुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा अध्यक्ष चयन भएका छन्।
कालिकोटको जिल्ला नेतृत्व चयन निर्वाचनबाटै हुने भएको छ। अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार रहेका छन्। रमेश शाही, दयाराम सिम्खडा, जसि प्रसाद पाण्डे, तुलाराज महत र धिरबहादुर बमले दाबी गर्दै आएका छन्।
कर्णाली इञ्चार्ज यमलाल कँडेलको जिल्ला सुर्खेतमा सहमति नजुटेपछि सोमबार निर्वाचन भएको छ। निर्वाचनमा अध्यक्षका लागि अमृत बिसी र डण्डिप्रसाद शर्माले उम्मेदवारी दिएका हुन्।
जाजरकोटमा पनि पदाधिकारी र केही सदस्यका लागि निर्वाचन नै भएको छ। १० बुँदे सहमतिपछि एमालेमै रहेका हालका अध्यक्ष करबिर शाही र नेता खिमबहादुर शाही प्यानलसहित मैदानमा उत्रिएका थिए। यसमा खिमबहादुर शाही ७ मतले विजयी भएका छन्।
एमाले स्थापनाकालमा पार्टीमा लागेका खिमबहादुर पछिल्लो समय एमालेको कुनै भूमिकामा थिएनन्। उनी गैरसरकारी संस्था चलाएर बसेका थिए।
अघिल्लो जिल्ला अधिवेशनमा नेपाल समूहबाट अध्यक्ष निर्वाचित भएका करबिर शाही नेकपाकालमा सचिव बनाइएका थिए। एमाले–माओवादी ब्युँतिएपछि उनी एमालेमै थिए।
तर, त्यतिबेला पनि ओलीपक्षले अर्कै कमिटी बनाएको थियो। मूलतस् १० बुँदे सहमतिपछि शाहीलाई अध्यक्ष स्वीकारिएको थियो। दैलेखमा पनि निर्वाचनकै संकेत देखिएको छ।
यसैगरी, गैरभौगोलिक दुवैमा सर्वसम्मत नेतृत्व चयन भएको छ। मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेषमा उमेश ढकाल निर्वाचित भएका छन्।
Comments