Sajhamanch Archive

दोलखाको कुरीमा स्की एड्भेन्चर सेन्टर निर्माण हुने, गुरुयोजना तयार

Published: in खेलकुद, प्रदेश तह, समाज, by .

चरीकोट, दोलखाको कालिञ्चोक कुरीमा कुरी स्की एड्भेन्चर सेन्टरु निर्माण हुन लागेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गुरुयोजना तयार पारिसकेकाले डीपीआर तयार गरी यो सेन्टर निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारको करिब पाँच लाख रुपियाँ लागतमा गुरुयोजना तयार भइसकेको छ । गुरुयोजना अनुसार डीपीआर तयारका लागि आगामी वर्षको बजेटमा समावेश गर्ने तयारी पनि भइसकेको छ ।

नेपालको पहिलो र नमुनाको यो स्की एड्भेन्चर सेन्टर निर्माण हुनेछ । स्कीको विकास गर्दै लाने लक्ष्य अनुसार सोलुखुम्बुको छ हजार ४७० मिटर उचाइको हिमालमा मेरापिक स्की निर्माण हुने पनि निश्चित भइसकेको छ ।

गुरुयोजना तयार गर्ने जिम्मा पाएको पास कन्सल्ट्यान्टका इन्जिनियर देवराज खड्काका अनुसार तयार भएको गुरुयोजना बमोजिम यसको निर्माणका लागि भ्याटसहित करिब २८ करोड रुपियाँ लाग्नेछ । सेन्टरको क्षेत्रफल एक लाख १३ हजार वर्गमिटर छ ।

करिब दुई महिना मात्र हिमपात हुने यो थलोलाई बाह्रै महिना अन्य प्रविधि र क्रियाकलापबाट भए पनि चलायमान बनाउन विकल्प पनि खोजिएका छन् ।

पास कन्सल्ट्यान्टका इन्जिनियर खडकाले भने, पानीको अभाव कम गर्न एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण हुनेछ । धार्मिक पर्यटकलाई लक्षित गरी यहाँ आध्यात्मिक ध्यान केन्द्र पनि निर्माण हुनेछ ।

कृत्रिम हिउँ उत्पादनको प्रविधि पनि जडान हुनेछ । आइस स्केटिङ पनि रहनेछ । कृत्रिम वाल क्लाइम्बिङ, क्वार्ड बाइक (सात मटिर लामो र ५.५ मिटर चौडाइ) र सात सय मिटरको टिबार रुट समेतका संरचना निर्माण हुने गुरुयोजनामा उल्लेख छ ।

सिक्नेहरुका लागि सजिलो र मध्यम खाले र विज्ञका लागि जटिल स्की रुटहरु रहनेछन् । पे ब्याक पिरियड आठ वर्षको हुनेछ । एनपीभी भ्यालु सात करोड ७३ लाख रहेको छ ।

कुरी केबुलकार र कालिञ्चोक गाउँपालिकाबाट प्राप्त तथ्याङ्कका आधारमा गुरुयोजना तयार भएको छ । दैनिक एक हजार पर्यटक अट्ने होटल तथा रेस्टुरेन्टको अपेक्षा राखिएको छ ।

सदरमुकाम चरीकोट र काठमाडौँबाट नजिक हुनु र कालिञ्चोक भगवतीको मन्दिर यहाँ रहनु यसका सबल पक्ष छन् भने पानीको स्रोतको अभाव,गुणस्तर सडक नहुनु, पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारको पोलिसी नहुनु यसका कमजोरी पक्ष रहेका गुरुयोजनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *