Sajhamanch Archive

कोरोना संक्रमितले भरिए राजधानीका अस्पताल, कुन अस्पतालमा कति संक्रमित ?

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं – बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ।

कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो। संक्रमणदर १ दशमलव ६७ प्रतिशत मात्र थियो।

यो संख्या बढ्दै पुस २२ गते १० हजार २६७ जनाको पीसीआर गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमणदर पनि ४ दशमलव २४ प्रतिशत थिये। हाल यो संख्या चार गुणाले बढ्दै नेपालमा कोरोना संक्रमणदर १६ दशमलव २६ प्रतिशत पुगेको छ।

काठमाडौं पुनः कोरोनाको हटस्पट बन्ने सम्भावना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक नियाल्दा हाल दैनिक दुई हजारभन्दा माथि संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति त काठमाडौं उपत्यकाकै हुने गरेका छन्।

बुधबार भेटिएका ३ हजार ७५ संक्रमितमध्ये १ हजार ५३८ काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा १ हजार १६८ ललितपुरमा २३६ र भक्तपुरमा १३४ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार २ हजार ४४४ संक्रमित भेटिदा काठमाडौं उपत्यकामा मात्र १ हजार २८६, सोमबार कुल संक्रमित १ हजार ४४६ मध्ये ८७६, आइतबार १ हजार १६७ मध्ये ६१५ र शनिबार ९४४ मध्ये ४८१ संक्रमित काठमाडौं उपत्यकाका थिए।

यो तथ्यांकले पनि काठमाडौं उपत्यकामा पुनः कोरोनाको जोखिम र संख्या बढ्न थालेको पुष्टि गर्छ। देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा कोरोनाको हटस्पट बन्ने सम्भावना रहेको काठमाडौं उपत्यकाको अस्पतालमा बिरामी बढ्दै गइरहेका छन्। कुनै बेला खाली जस्तै भएको काठमाडौं उपत्यकाको अस्पताल पुनः बिरामीले भरिन थालेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल एपीएफ लगायत अस्पतालमा बिरामीको संख्या दैनिक बढ्दो छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पहिलो लहरमा सरकारले यो अस्पतालाई कोरोना विशेष अस्पताल बनाएको थियो।

यो अस्पतालमा हाल कोभिड १९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्।

बुधबार दिउँसोको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा ६ आइसीयू र ६ एचडीयू गरी १२ जना बिरामी उपचाररत छन्। अस्पताल भर्ना हुन आउने बिरामीको संख्या बढेपनि गम्भीर खालका बिरामी कमै मात्र हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

उनले भने, ‘हाल अस्पताल भर्ना हुन आउने बिरामीको संख्या दैनिक बढीरहेको छ। तर अधिकांश बिरामी गम्भीर अवस्थाका छैनन्। दोस्रो लहरमा जस्तो अक्सिजन र आइसीयू चाहिने कमै मात्र छन्।’

उनका अनुसार हाल अस्पतालको इमरजेन्सीमा भर्ना हुने आउने बिरामीको संख्या पनि बढ्दो छ। इमरजेन्सीमा मात्रै दैनिक ७ देखि ८ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

रुघाखोकी र ज्वरोको बिरामी आउन थालेपछि केही समयका लागि बन्द भएको फिभर क्लिनीक गत शुक्रबारदेखि सञ्चालन गरिएको छ।

उक्त फिभर क्लिनीकमा दैनिक २५ देखि ३० जना आउने गरेको उनले जानकारी दिए। फिभर क्लिनिकमा आउने अधिकांशलाई पीसीआर परीक्षणका क्रममा कोरोना भेटिने गरेको छ।

यति मात्र नभई शुक्रराज अस्पतालमा पीसीआर परीक्षणका लागि पुग्ने बिरामीको संख्या पनि बढ्दो छ। त्यसमा पनि पोजिटिभ दर बढ्दो रहेको सूचना अधिकारी गौतमले बताए।

मंगलबार १५३ जनाको पीसीआर परीक्षण गर्दा आधाबढीमा कोरोना पुष्टि भएको थियो। यसअघि सामेबार १०६ जनाको पीसीआर परीक्षण कोरोना भेटिएको संख्या ४० थियो। यस अस्पतालमा एक साताअघि पीसीआर परीक्षण गर्नेको संख्या मात्र ७०र८० जना हुने गर्दथ्यो।

नेपाल एपीएफ अस्पताल

काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पताल कोरोनाको उपचार हुने अस्पतालहरुमध्ये एक हो। यो अस्पतालमा पनि हाल कोरोनाका बिरामी बढ्न थालेका छन्।

प्रहरी उपरीक्षक डा. प्रवीन नेपालका अनुसार हाल यस अस्पतालमा ६ आइसीयू सहित ४० जना संक्रमित उपचाररत छन्। करिब एक सातादेखि संक्रमितको संख्या बढ्न थालेको उनले बताए। यसअघि अघिल्लो साता नेपाल एपीएफ अस्पतालमा करिब १० जना मात्र संक्रमित उपचाररत थिए।

हाल दैनिक ८र९ जना संक्रमित भर्ना हुनेको गरेको डा नेपालले जानकारी दिए। भर्ना हुने अधिकांश बिरामीमा लक्षण देखिएपनि गम्भीर अवस्थाका कमै मात्र रहेको उनले बताए।

उनले भने, ‘एक सातादेखि बिरामीको संख्या बढ्दो छ। भर्ना हुने सबैजसो बिरामीमा लक्षण छन्। तर अक्सिजन र आइसीयू चाहिने बिरामीको संख्या भने कमै मात्र छ। पहिले जस्तो अवस्था अहिले छैन।’

त्रिवि शिक्षण अस्पताल

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। जनरल बेडमा १८ र आइसीयूमा १० जना गरी २८ जना संक्रमित उपचाररत रहेको कोभिडको उपचारमा खटिरहेका छातिरोग विशेषज्ञ डा निरज बमले बताए।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा पुसको पहिलो सातातिर निकै कममा झरेको संक्रमितको संख्या पुस तेस्रो सातादेखि बढ्न थालेको छ। कोभिड ओपिडीमा हाल दैनिक १५ देखि २० जना संक्रमित रुघाखोकी र ज्वरोको लक्षण लिएर आउने गरेको उनले बताए।

उनले भने, ‘पहिले त धेरै कम भइसकेको थियो। तर पुसको तेस्रो सातादेखि यहाँ कोरोनाका बिरामीहरु बढ्न थालेका छन्। धेरैजसोमा रुघाखोकी र ज्वरोको लक्षण देखिएका छन्।’

देशभर संक्रमितको संख्या बढीरहँदा त्रिवि शिक्षण अस्पतालमा पनि बिरामीको संख्या ह्वात्तै बढ्न सक्ने उनको अनुमान छ।

नेपाल निजामती (सिभिल) अस्पताल

बानेश्वस्थित नेपाल निजामती (सिभिल) अस्पतालमा हाल १३ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये ५ जना आइसीयूमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले जानकारी दिए।

सिभिल अस्पतालमा पनि एक सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। स्वास्थ व्यक्तिमा सामान्य लक्षण देखिएपनि दीर्घ रोगीहरुलाई आइसीयू र अक्सिजनको आवश्यकता परेको उनले बताए।

उनले भने, ‘दम, निमोनिया, मधुमेह रोग जस्ता दीर्घ रोग भएका र अंग प्रत्यारोपण भएका व्यक्तिलाई कोरोनाले गाह्रो बनाउने गरेको छ। यहाँ आइसीयूमा भर्ना हुने अधिकांश बिरामी यस्तै दीर्घ रोग भएकाहरु छन्।’

अन्य अस्पतालमा कहाँ कति ?

यो सहित वीर अस्पतालमा २१ जेनरल, १६ एचडीयू, ४ आइसीयू र २ भेन्टिलेटरमा गरी ४३ जना, पाटन अस्पतालमा १९ जेनरल, १८ एचडीयू, ३ आइसीयू र ३ भेन्टिलेटरमा गरी ४३ जना, भक्तपुर अस्पतालमा १ आइसीयू र १ भेन्टिलेटरमा गरी २, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २८ जना जेनरलमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

पुस महिनाको तथ्यांक

पुस (गते) जम्मा परीक्षण पोजिटिभ मृत्यु  संक्रमणदर प्रतिशतमा
१. ११०१८ १८४ १.६७
२. ९०१६ २७४  ३.०४
३. ७९९७ १८९ २.३६
४. ९८७२ १८१ १.८३
५. ४१४१ २२० ५.३१
६. १७०८९ २९० १.७०
७. ११३०९ २३६ २.०९
८. ११६२६ २९३ २.५२
९. ११८९८ २६० २.१९
१०. ६४४७ १६७ २.५९
११. ९६७७ २१९ २.२६
१२. १०८८६ २७१ २.४९
१३. १२५६६ २६० २.०७
१४. ७६०८ २५३ ३.३३
१५. ८८९७ २४१ २.७१
१६. ९०८४ २३५ २.५९
१७. २०९५९ ३८२ १.८२
१८. ७६३१ २०९ २.७४
१९. १२४९८ ३२६ २.६१
२०. ९३२९ २६३ २.८२
२१. १०२६७ ४३५ ४.२४
२२. १२०९९ ५४० ४.२६
२३. १४९७१ ९६८ ६.४७
२४. १३२६४ ९४४ ७.१२
२५. १२६३२ ११६७ ९.२४
२६. ११४२९ १४४६ १२.६५
२७. १५०३३ २४४४ १६.२६
२८. १३०३६ ३०७५ २३.५९

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *