Sajhamanch Archive

उत्तर प्रदेशमा सांँसद र नेताहरूले छाडन थाले भाजपा

Published: in विश्व समाचार, by .

काठमाडौं- पछिल्लो २४ घण्टामा भारत, उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारका दुई शीर्ष मन्त्रीले राजीनामा दिए। पहिला स्वामी प्रसाद मौर्य र त्यसपछि दारा सिंह चौहानले।

दुवै नेताले आफ्नो राजीनामामा सरकारले किसान, पिछडिएका, शोषित र पीडितको उपेक्षा गरेको आरोप लगाएका छन्। दुवै भारतीय जनता पार्टी (भाजपा) उत्तर प्रदेशका महत्वपूर्ण नेता थिए।

बिहीबार उत्तर प्रदेशमा भाजपाका अर्का विधायकले पनि राजीनामा दिए। शिकोहाबादबाट भाजपाका विधायक रहेका मुकेश वर्माले पार्टी छोडेका हुन्। यसले भारतीय राजनीति तातेको छ।

राजीनामा दिएपछि मुकेश वर्माले स्वामी प्रसाद मौर्य आफ्नो नेता रहेको र उनी जहाँ जान्छन् आफू साथमा रहने बताए। उनीहरुका साथै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र राजनीतिक दलमा भाजपा छाडेर जाने या जाने तयारीमा रहेका कतिपय नेताहरुको नाम चर्चामा छन्।

शाहजहाँपुरको तिलहरबाट विधायक रोशनलाल वर्मा, बिल्होरबाट विधायक भगवती प्रसाद र तिंदवारीबाट विधायक ब्रजेश प्रजापतिले राजीनामा दिएको रिपोर्ट पनि आएको छ। यी नेताहरुले पनि दलित, पिछडिएको वर्ग, शोषित पीडितलाई योगी सरकारले उपेक्षा गरेको आरोप लगाएको जनाइएको छ।

1140x725

विपक्षी दल समाजवादी पार्टीनिकट स्रोतले आगामी केही दिनभित्रमा भाजपाका कयौं विधायक र मन्त्री समाजवादी पार्टी (सपा)मा प्रवेश गर्ने दाबी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

समाजवादी पार्टीका प्रवक्ता अब्दुल हफिज गान्धी भन्छन्, समाजवादी पार्टी यस्ता कयौं नेताहरुसँगको सम्पर्कमा छ जो भाजपा छोड्न चाहिरहेका छन्। यी सबैलाई हामीले स्वागत गरिरहेका छौं। आगामी दिनमा कयौं नाम भाजपा छोडेर समाजवादीमा जोडिने छन्।ु

भाजपाबाट राजीनामा दिएका स्वामी प्रसाद मौर्य चर्चित नेता हुन्। सन् २०१७ को चुनावअघि बहुजन समाज पार्टी (बसपा) छोडेर उनी भाजपा आएका थिए र मन्त्री बनेका थिए। उनलाई गैर यादव, ओबीसी भोटमा पकड भएको नेता मानिएको छ।

भाजपा मौर्यलाई मनाउने प्रयासमा देखिएको छ। तर, जब उनले बसपा छाडेका थिए, मायावतीले मौर्यले छोडेर पार्टीमाथि उपकार गरेको बताएकी थिइन्।

मौर्य जब भाजपामा आएका थिए, त्यतिबेला धेरै नेतालाई साथ ल्याएका थिए। र अब उनी जाने बेलामा कयौं नेता साथ लिएर जाने देखिएको छ।

विश्लेषकहरुका अनुसार मौर्य र अन्य नेताहरुले भाजपा छाड्नुको स्पष्ट संकेत पार्टीमा पिछडावर्गका नेताहरुले आफूहरुको जातिलाई वेवास्ता गरिएको महसुस गर्नु नै हो।

भाजपामा किन मच्चियो भागदौड ?

वरिष्ठ पत्रकार शरत प्रधान नेताहरुको राजीनामाले भाजपा उच्च जातको पार्टी बनेको देखिएको बताउँछन्। मौर्य र अन्य नेताहरुको राजीनामाले स्पष्ट भइरहेको छ, उनीहरुलाई भाजपा एक अपर कास्ट पार्टी बनेको लागिरहेको छ, उनी भन्छन्, खासगरि योगी आदित्यनाथले जसरी पाँच वर्षको शासनमा ठाकुर वर्गलाई प्राथमिकता दिए, त्यसले पिछडिएको वर्ग रिसाएको छ।

अब जुन अवस्था बनिरहेको छ र नेताहरुले साथ छाडिरहेका छन्, खास गरेर ओबीसी नेताहरुमा एक खालको भागदौड मच्चिइरहेको छ। उनीहरु भाजपा र योगी आदित्यनाथलाई छाडेर भागिरहेका छन्। यसले भाजपाको कम्यूनल कार्ड फेल भइरहेको छ।

तर, भाजपा नेताहरु भने आफ्नो पार्टीबाट भागदौड भइरहेको विषय स्वीकार गर्दैनन्। पार्टी प्रवक्ता राकेश त्रिपाठी भन्छन्, भाजपामा कुनै भागदौड छैन। बुधबार नै दुई सांसद भाजपामा आएका छन्।

कांग्रेसबाट नरेश सैनी र समाजवादी पार्टीबाट मुलायम सिंह यादवका सम्धी हरिओम यादव पनि पार्टीमा आएका छन्। यादव सिरसागंज फिरोजाबादबाट विधायक हुन्। समाजवादी पार्टीको गढबाट विधायकहरु भाजपामा आइरहेका छन्। त्यसैले यो भागदौडको हल्ला गलत हो।

पार्टीमा भागदौडको प्रश्नमा भाजपा नेताहरुले पार्टी छाड्ने भन्दा भित्रिनेहरुको संख्या धेरै रहेको दाबी गरे।

ओबीसी नेताहरु किन रिसाए ?

भारतमा जातिगत आधारमा जनगणना भएको छैन। तर, उत्तर प्रदेशमा अन्य पिछडा वर्गको ठूलो जनसंख्या छ। सन् २०१४ को आम चुनाव र २०१७ को उत्तर प्रदेश चुनावमा भाजपाको जितमा पिछडा वर्गको समर्थन महत्वपूर्ण कारण मानिएको थियो। यस्तोमा स्वामी प्रसाद मौर्यको बहिर्गमन भाजपाको ओबीसी वर्गमा नोक्सान हुन सक्छ।

शरत प्रधान भन्छन्, भाजपासँग एक अनुहार छ नरेन्द्र मोदी। प्रधानमन्त्री मोदीले २०१४ मा ओबीसीको मत भाजपातर्फ खिचेका थिए। निकै ठूलो संख्यामा ओबीसीका नेता र मतदाता भाजपासँग जोडिएका थिए।

तर, अब योगी सरकारको रवैयाका कारण ओबीसी रिसाएको छ। यूपी चुनावमा अब यति धेरै समय रहेको छैन कि भाजपा रिसाएकाहरुलाई फकाउन सकोस्।

भाजपा प्रवक्ता राकेश त्रिपाठी पिछडावर्गको पक्षमा पार्टी रहेको र प्रदेशका डेपुटी सीएम केशव प्रसाद मौर्य निर्विवाद रूपमा यूपीमा पिछडावर्गको सबैभन्दा ठूला नेता भएको बताउँछन्।

भाजपाका नेताहरु पार्टीमा कुनै खास वर्गमा कुनै रोष नभएको बताउँछन्। प्रवक्ता त्रिपाठीका अनुसार पार्टीबाट त्यस्ता मानिस गइरहेका छन् जसले पार्टीमा कुनै भविष्य देख्दैनन्।

पछिल्ला केही वर्ष, खास गरेर २०१४ पछिको रेकर्ड हेर्ने हो भने भाजपामा आउने नेताहरुको संख्या पार्टी छाडेर जाने नेताहरुको तुलनामा निकै धेरै छ। यद्यपि, भाजपाको राजनीतिक जनाधार पनि बढिरहेको छ।

पार्टी राज्य र केन्द्रमा सत्तामा छ र यदी सदस्यको आधारमा हेर्ने हो भने भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टीमध्येको एक हो। भारतीय जनता पार्टी आफ्नो राजनीतिक इतिहासमा यस समय सबैभन्दा बलियो स्थितिमा छ। उत्तर प्रदेश चुनावलाई लिएर भइरहेको विश्लेषणका अनुसार भाजपा बलियो स्थितिमा छ।

पार्टी संगठनका हिसाबमा सबैभन्दा बलियो रहेको अवस्थामा प्रभावशाली नेताहरुले भाजपा किन छाडिरहेका छन् र यसले पार्टी कमजोर बन्ने त होइन भन्ने प्रश्न कार्यकर्तामा छ। तर, भाजपा नेताहरु भने यसलाई स्वीकार गरिरहेका छैनन्।

विश्लेषकहरु भने पार्टी छाड्नेहरुले भाजपाका कारण नभइ मुख्यमन्त्री योगीका कारण छाडेको बताउँछन्। पछिल्लो पाँच वर्षमा भाजपाको पार्टीभन्दा पनि योगी सरकारको रुपमा उनले आफूलाई सर्वोपरि बनाएका छन्।

योगीले पार्टीलाई भन्दा आफूलाई प्रधानता दिएको आरोप लागिरहेको छ। योगीको यस्तै सोच र व्यवहारका कारण युपीमा भाजपालाई धक्का पुग्न सक्ने कतिपयको आकलन छ।

(बीबीसी हिन्दी र भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित लेखहरुमा आधारित)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *