Sajhamanch Archive

अमेरिकाले लगायो चीनमाथि प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, by .

वासिंटन  । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो ।

चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

अमेरिकाले भने युक्रेन तथा अमेरिकी राजनीतिमा हस्तक्षेपकारी नीति अबलम्बन गरेपछि रुसविरुद्ध लगाइएको प्रतिबन्धको चीनले उल्लंघन गरेकाले पछिल्लो कदमा चाल्नुपरेको जनाएको छ । चीनले हालै रुसबाट १० वटा ‘सुखोई सु–३५’ लडाकू विमान र ‘एस–४००’ क्षेप्यास्त्र खरिद गरेको थियो ।

बेइजिङले सन् २०१४ मा रुसविरुद्ध अमेरिका तथा उसका साझेदारहरुले लगाएको प्रतिबन्धमा असंलग्नता जनाउँदै आएको छ । अत्याधुनिक हतियार उत्पादन गर्ने चीनले हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्नका लागि रुससँग जेट तथा क्षेप्यास्त्र खरिद गरेको हो ।

अमेरिकी प्रतिबन्ध चीनभन्दा पनि रुसविरुद्ध लक्षित भएको देखिएको छ । अधिकारीहरुले वासिंटनको निर्णय रुसविरुद्ध भएको जनाउँदै आफ्नो नियत कुनै पनि देशलाई कमजोर आँक्नु नरहेको जनाएका छन् । अमेरिकी कदमले चीनसँग हालैका दिनमा ब्यापार युद्धका कारण बिग्रिएको सम्बन्ध थप चिसिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच रुसले अमेरिकी सैनिक प्रतिबन्ध विश्वको स्थायित्वका लागि खतरा रहेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले अमेरिकी कदम ‘अस्वस्थ प्रतिस्पर्धाको अर्को काम’ भएको बताए । उनले विज्ञप्ति जारी गर्दै ‘अमेरिकाले आगोसँग खेल्न चाहेको’ प्रतिक्रिया दिए । आगोसँग खेल्न खोज्नु मुर्खता भएको र यसको परिणाम निकै भयानक हुन सक्ने चेतावनी उनले दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *