Sajhamanch Archive

संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्ने देउवा र दाहालबीच सहमति

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचत गर्न सहमत भएका छन्।

२ नेताबीच सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका दाहाल आइतबार मात्रै संक्रमण मुक्त भएका थिए।

सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको दाहालको सचिवालयका एक सदस्यले जानकारी दिए।

२ नेताबीच संविधानको व्यवस्थाअनुसार नै तीनै तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा)को निर्वाचन गर्ने सहमति जुटेको दाहालको सचिवालयका ती सदस्यले जानकारी दिए।

सत्तारुढ गठबन्धका दलहरुबीच निर्वाचनका सन्दर्भमा फरक–फरक धारणा रहेको जनाइएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा चुनावलाई लिएर गठबन्धनमा मिश्रित धारणा देखिएको बताएका थिए।

गठबन्धनमा एकमत नहुँदा स्थानीय तहको निर्वाचन घोषणाको विषय अन्योलमा पर्दै आएरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच चुनावको विषयमा सहमति जुटेको हो।

चुनावका सन्दर्भमा सोमबार २ नेताबीच भएको समझदारीबारे छलफल गर्न भोलि (मंगलबार) बिहान सकरार संचालन सहयोग सयन्त्रको बैठक बोलाइएको छ।

मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी संयन्त्रको बैठक बोलाइएको दाहालको सचिवालयले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *