Sajhamanch Archive

चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, केही अस्पतालको सेवा प्रभावित

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

भरतपुर– चितवन जिल्लामा रहेका स्वास्थ्य संस्थामा कार्यत ११७ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु छन्। चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि केही अस्पतालको सेवा प्रभावित भएको छ।

संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन्।

चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा संक्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताए। उनले भने, अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ।

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सक र स्वास्थ्यकर्मी गरी ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार ३ जना चिकित्सक २२ जना नर्स, ७ जना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको महतोको भनाइ छ। चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो।

संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन्। चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ। यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित अन्य १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *