Sajhamanch Archive

कोरोना संक्रमण बढेकाले कांँग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो।

मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। यसअघि पुस २७ का लागि तोकिएको अधिवेशन सारिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन सार्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।

‘संक्रमण दर बढिरहेको छ। यस्तो अवस्थामा हामीले जिल्ला निर्वाचन गर्‍यौं र संक्रमण थप फैलियो भने दोष निर्वाचन समितिलाई आउँछ,’ निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरी १र२ दिनमै निर्णय लिन्छौं।’

१४ महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन। मधेश प्रदेशको अधिवेशन भने महाधिवेशन सकिए लगत्तै गरिएको थियो। ‘केन्द्र र प्रदेशको नयाँ समिति आइसकेको छ।

जिल्लामा कार्यसमिति नभएको अवस्था पनि छैन। अधिवेशन नहुन्जेल पुरानै कार्यसमितिले आफ्नो भूमिका निर्वाह गर्छ। संक्रमणको जोखिमको बेलामा हतारिनु पनि हुँदैन,’ निर्वाचन समिति सदस्य भन्छन्।

संक्रमणको परिस्थिति सामान्य नहुँदासम्म अधिवेशन गर्न नहुने उनले बताए। निर्वाचन समितिको बैठक १र२ दिन भित्रमै बसेर अधिवेशन सार्ने निर्णय गर्ने उनले बताए।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके,अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ। अन्य जिल्लाको अधिवेशन १४औं महाधिवेशन हुनुभन्दा अघि नै सकिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *