Sajhamanch Archive

मन्त्री यादवले दिइन् गौर नरसंहार दोहोर्‍याउने धम्की

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

रौतहट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी छिन्। बुधबार ‘बलिदानी दिवस’ को अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनमत पार्टीका अध्यक्ष सीके राउततर्फ संकेत गर्दै १५ वर्ष अगाडिको घटना दोहोर्‍याउने धम्की दिएकी हुन्।

‘आज हिंसा गर्नुछैन। आज बलिदान दिवस मनाउन आएका हौँ’, उनले भनिन्, ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’

उनले त्यतिबेला के भएको थियो भन्दै सजक हुन चेतावनी पनि दिइन्। उनले राइस मिल अझै जीवित भएको र गौर ऐतिहासिक जिल्ला भएको भन्दै चुनौती नदिन आग्रह गरिन्। कार्यक्रम स्थलमा जाँदै गर्दा बुधबार सीके राउतका कार्यकर्ताले उनलाई अवरोध गरेका थिए।

२०६३ चैत २७ गते तात्कालीन मधेसी जनअधिकार फोरमले माओवादीका २७ कार्यकर्ताको हत्या गरेको घटनाको रुपमा गौर नरसंहार चर्चित छ। एकै ठाउँमा (राइस मिलमा) कार्यक्रम गर्ने फोरम र माओवादीको हठका कारण उत्पन्न द्वन्द्वका कारण माओवादी कार्यकर्ताको हत्या गरिएको थियो।

दम्भले निम्त्याएको घटना

गौरस्थित राइस मिल्स चौरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो। फोरमको जिल्ला कमिटीले आयोजना गरेको सो आमसभाका लागि उसले केही दिन अघिदेखि नै प्रचार पनि गरिरहेको थियो।

सो स्थानमा कार्यक्रम जुधाएको थियो, माओवादीले। माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले त्यहाँ कार्यक्रम गर्ने भन्दै अघिल्लो दिन मात्रै प्रचार गरेको थियो। कार्यक्रमका लागि चौरमा दुवैले १०० मिटरको दूरीमा मञ्च पनि बनाएका थिए।

दुवै दलको मनोबल उच्च रहेको अवस्थामा कार्यक्रम स्थलमा झडप हुनसक्ने अनुमान धेरैको थियो। यद्यपि, ७ गतेको सुरुवात भयपूर्ण भने थिएन। बिहान ११ बजेदेखि नै फोरमको जुलुसले नगर परिक्रमा गरिरहेको थियो।

फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आएका थिए। पौने २ बजे माओवादीको जुलुस सुरु भयो। कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाईसीएल कार्यकर्ता ल्याएको थियो। दुवैको जुलुस जम्काभेट हुँदा एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए।

तर, अवस्था सौहार्दपूर्ण रहिरहन सकेन। माओवादी जुलुस गरिरहेकै समयमा यता फोरमको कार्यक्रम सुरु भयो। फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए।

माओवादी कार्यकर्ताले सहने कुरै भएन। केहीबेरमै उनीहरु पनि फोरमको मञ्चमाथि जाइलागे। तोडफोड गर्न थाले। हानाहान भयो। जे नहुनु थियो, त्यही भयो।

कार्यक्रम स्थलमा गोलीका आवाज सुनिए। भागाभाग मच्चियो। कार्यक्रमस्थल एकैछिनमा रणभूमिका परिणत भयो। पछि त्यहीं ६ जनाको लास भेटिएको थियो।

त्यस्तै, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो। कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो।

घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गर्ने श्रृंखला चलाए। आक्रमणकारीसँग राइफल, भाटा र लाठी थिए भन्ने धेरै घाइतेहरुले आफ्नो भनाइमा व्यक्त गरेका छन्।

माओवादी कार्यकर्ताहरु अन्य जिल्लाबाट आएको हुनाले घटनास्थलबाट भागे पनि उनीहरुलाई भूगोलको राम्रो ज्ञान थिएन। त्यसैले उनीहरु सहजै फोरम पक्षको कब्जामा परे। मकवानपुरतिरका केही वाईसीएल कार्यकर्तालाई त वीरगञ्ज लैजाने भनी झुक्याएर गौर पुर्‍याइएको थियो।

सो घटनामा अमानवीय तरिकाले माओवादी कार्यकर्ताको हत्या गरिएको थियो।

मृतकहरु सबैको टाउकोमा गहिरो चोट देखिन्थ्योु, गौर घटनापछि इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा भनिएको छ, उनीहरुलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको थियो।

केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो। यस्तै यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको, स्तन काटिएको र हत्या गरिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोग दिइएको थियो।

गौर अस्पतालले भने लास खोलेर परीक्षण नगरेको र बाहिरबाट मात्रै हेरी शव परीक्षण प्रतिवेदन फारम भरेका कारण महिलामाथि भएका भनिएका बलात्कार वा अन्य यौनजन्य हिंसाको भने औपचारिक पुष्टि भएको छैन।

तर, इन्सेक प्रतिनिधिसँग मृतक रेखा परियारका परिवारले भनेका छन्, उनको लास क्षतविक्षत थियो। चिन्न सकिने अवस्था थिएन। देब्रे स्तन काटिएर छुट्टिन मात्रै बाँकी अवस्थामा थियो।ु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *