Sajhamanch Archive

निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग असुल्छ मोटो रकम

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

चितवन, सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

सरकारसँगको सम्झौताविपरीत चितवन मेडिकल कलेजले बिरामीसँग पैसा लिएको तर उनीहरूलाई निःशुल्क उपचार गरेको भनी सरकारसँग भुक्तानी दाबी गरेको थियो ।

तीन जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिनेमध्ये कोरोना सङ्क्रमित भरतपुर महानगरपालिका–२० का कृष्ण भण्डारी गतजेठ २ गते चितवन मेडिकल कलेजमा भर्ना भएर असार ७ गते उपचारपछि घर गएका थिए ।

यो क्रममा छ लाख ८२ हजार ७८० रुपियाँ बिल उठेको भण्डारीले बताए । त्यसमा कलेजले एक लाख रुपियाँ छुट दिएर पाँच लाख ८२ हजार ७८० रुपियाँ आफूले तिरेको उनले जानकारी दिए ।

निःशुल्क उपचार गर्छु भनेर पैसा लिएपछि भण्डारीले जिल्ला प्रशासन कार्यालयमा केही हप्ताअगाडि नै जानकारी गराउनुभएको थियो तर यस विषयमा कुनै सुनुवाइ भएको थिएन । अहिले प्रशासन कार्यालयले सार्वजनिक रूपमा उजुरी दिन आह्वान गरेपछि आफूले उजुरी दर्ता गरेको उनले बताए ।

३७ दिन अस्पतालमा बस्दा भेन्टिलेटर, आईसीयू र एचडीयूमा बसेर उपचार गरिएको बताए । कुरुवाको खर्च, खाइखर्च र अन्य गरेर १२ लाख रुपियाँ सकिएको थियो । अस्पतालमा मात्रै पाँच लाख रुपियाँभन्दा धेरै तिरेको बिल आफूसँग भएको दाबी उनको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराएकी हिमालक्ष्मी भट्टको परिवारले नौ दिनको ९० हजार रुपियाँ बुझाएको छ । बिरामीका आफन्त नारायण केसीले रकम बुझाएको तर अस्पतालले अहिले निःशुल्क उपचार गरेको भनी सरकारसँग पनि माग गरेको सुन्दा अचम्मित भएको बताइन् ।

उनको जस्तै सिरहा गोलबजार–१३ का मनोजकुमार सिंहले पनि यो कलेजमा उपचार गराउँदा एक लाख ३८ हजार छ सय रुपियाँ तिरेका छन् । निःशुल्क उपचार भने पनि पैसा तिर्नु परेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयको इमेलमा प्रमाणसहित उजुरी दिएका छन् ।

प्रशासनले सूचना सार्वजनिक गरेपछि उजुरी दिने क्रम वृद्धि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

कतिपयको मौखिक उजुरी परेको छ, कतिले फेसबुकमार्फत उजुरी गर्नुभएको छ, उनले भने , “प्रमाण पुगेर आएका उजुरीमाथि आवश्यक अनुसन्धान हुनेछ, अझै उजुरी दिने समय बाँकी रहेकाले केही भन्न सकिँदैन । ”

अस्पतालले यसअगाडि पनि निःशुल्क उपचारको व्यवस्था भए पनि पैसा लिएको भनी निवेदन दिन आएका घटना भएको पौडेलले बताए । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले सरकारसँग भएको सम्झौताविपरीत उपचारमा पैसा लिएको भन्दै बिरामीले गुनासो गर्दै आएका छन् ।

कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालले गत वैशाखदेखि असार १५ गतेसम्म उपचार गरिएका बिरामीको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडीयूमा बसेको तीन हजार पाँच सय र आईसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार रुपियाँ मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *