Sajhamanch Archive

कांँग्रेसले सरकारको कामको समीक्षा गर्छ : महामन्त्री शर्मा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा गर्दै आवश्यक दिशानिर्देश गर्ने बताएका हुन्।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए। जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे।

कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घच्याउने उनको भनाइ छ।

त्यस्तै, कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए।

उनले भने, कांँग्रेसले निर्वाचनतर्फ जाँदै गर्दा दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरीतका गतिविधिहरु।

जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ। तर हामी उत्तिकै के सजग छौँ भने हाम्रो पनि सरकारको एक वर्षको पर्फमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैं पनि समीक्षा गरेर जान्छौं।

यसबीचमा जे कमजोरी सरकारबाट भएका छन् त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ, सरकारलाई कार्यसम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्यो भनेर भन्छ।

जनतालाई पनि के आग्रह गर्छौं भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस्। किनभने एउटा विशिष्ट परिस्थितिमा सरकार बनेको हो।

हामीलाई जनताले म्याण्डेट बाहिर बस्न भनेर दिँदादिँदै पनि नचाहँदा नचाहँदै पनि सरकारको नेतृत्व गरेर जानुपर्यो।

महामन्त्री शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पूरा हुन नसक्ने स्पष्ट पारे।

सरकार संविधान अनुसार चलाउने, संविधान र संसद्को रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै उनले सोअनुसार भए–नभएको जनताले समीक्षा गर्नुपर्ने बताए।

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उनले बताए। केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि उनले जानकारी दिए।

कांँग्रेसको हालै भर्चुअल रुपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *