स्थानीय तहको निर्वाचन समयमै नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं : वरिष्ठ उपाध्यक्ष पोखरेल
Published:
by .काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा( एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।
उनले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरे। सरकारले मिति घोषणा नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनको भनाइ थियो।
एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले न्यायाधीशहरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ। श्रीमानहरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ। कानुनलाई उल्लंघन गर्ने धृष्टता गर्दै छ ।
संविधानले किटानी गरेको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दै छ।’ सरकारले संविधान र कानुनविपरीत काम गरे सञ्चार माध्यमहरुले पनि विरोध गर्नुपर्ने उनले बताए।
उनले पार्टीनिकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्याउने काममा केन्द्रित हुनसमेत आग्रह गरे।
Comments