माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने
Published:
by .काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ ।
दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन् ।
यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ ।
बैठकमा पदाधिकारी चयन भएपछि स्थानीय निर्वाचनबारे रणनीति बनाउनुका साथै महाधिवेशनले निर्देशन गरेअनुरूप योजना र कार्यनीति बनाइने भएको छ ।
माओवादी नेता हरिबोल गजुरेलले भने, “माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहितको पार्टी संरचना निर्माण गर्नेछ ।
त्यसको तयारी भइसकेको छ । ” स्थानीय निर्वाचन घोषणाको तयारी भइरहेकाले पनि अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
गत पुस १२–१९ गतेसम्म काठमाडौँमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले २९९ मध्ये २३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।
तर, पदाधिकारी र स्थायी समिति चयन नगरी महाधिवेशन सम्पन्न गरिएको थियो । विषेश गरी महासचिवमा सहमति हुन नसक्दा महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेको हो ।
महासचिवमा नेता वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायत नेताको चर्चा महाधिवेशनमै भएको थियो । पुन स्वदेश फर्किसकेका छन् । उनीरूमध्ये नेता पुन र शर्माको सम्भावना बढी छ ।
पदाधिकारीको सङ्ख्या विधानमा तोकिएको छैन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र बाँकी सचिव रहने गरी तयारी भएको छ ।
नेता गजुरेलले आकाङ्क्षी धेरै भएपनि सहमतिमै पदाधिकारी चयन गरिने बताए । आकाङ्क्षीबीच सहमति हुन नसके दोस्रो विकल्पबाट भए पनि महासचिव र पदाधिकारी चयन गरिने भएको छ ।
Comments