Sajhamanch Archive

नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, समाज, by .

काठमाडौ, संसारमा रहेका हरेक जातजातिका आ–आफ्ना रीतिरिवाज, चालचलन, आफ्नै संस्कृति तथा परम्पराहरू हुन्छन् र सबैको आफ्नै महत्व र विशेषता पनि ।

कतिपय परम्परा अलि कस्तो–कस्तो लाग्ने खालका पनि हुन्छन्, तर ती सबै आफ्नै प्रकारका हुन्छन् । कतिपय वैज्ञानिकतामा आधारित पनि हुन्छन् ।

यस्तै परम्पराहरूमध्ये एक हो— सगुन अर्थात् सँग (नेपाल भाषामा), कसै–कसैले सगुनलाई सौकँ भन्ने पनि गर्छन् ।

सगुन (सँग) जन्मदिनमा, विवाहमा, ज्येष्ठ नागरिकको जंकोमा साथसाथै म्ह पूजामा र कोही बाहिर लामो यात्राका लागि जान लागेको छ भने वा फर्केको छ भने वा कोही ठूलो दुर्घटनाबाट बचेर आएको छ भने उसले पुनर्जन्म पाएको भनी र कुनै शुभकार्यको थालनी गर्न लागेको वा सम्पन्न भएको सन्दर्भमा दिइन्छ ।

यो एक प्रकारको आशीर्वाद वा स्याबासी हो, सम्मान हो । त्यस्तै गरी मातातीर्थ औंसी, कुशे औंसी, भाइ पूजामा दिदीबहिनीको हातबाट दाजुभाइलाई सगुन दिने चलन छ ।

यो प्रचलन हिन्दू तथा बौद्ध नेवार समुदाय दुवैले मान्दछन् । सगुन दिँदा अन्डा सगुन (ख्येँ) वा दही सगुन (धौ) सँग दिने गरिन्छ । ख्येँ सगुनमा उसिनेर र पकाइएको सिंगै अन्डा, माछा, मासु वा रक्सी दिने गरिन्छ ।

सगुन दिनुभन्दा अगाडि घरकी ज्येष्ठ महिलाले सुकुन्दालाई एउटा पातमा राखी भगवान् गणेशको पूजा गर्छिन् । भगवान्को पूजापछि सगुन दिइने व्यक्तिलाई रातो अबिर मुछिएको चामलको टीका निधारमा लगाइदिन्छिन् ।

त्यसपछि एउटा हातमा अन्डा, सिंगै तारेको माछा, सानो टुक्रा मासु, सानो टुक्रा अदुवा, कसैले अदुवासँग लसुन पनि, योमरी (मास वा मुंगको रोटी) र अर्को हातमा सानो बटुकोमा रक्सी दिने गर्छन् ।

सगुन लिनेले सगुन दिने महिलालाई ढोगेर आशीर्वाद लिनुपर्छ र सगुन सबै खानुपर्छ । रक्सी तीन पटकसम्म अलि–अलि थपिदिने चलन पनि छ । यो सबै तान्त्रिक विधिमा आधारित छ भनिन्छ ।

तान्त्रिक मतअनुसार मानव शरीर पञ्चतत्वबाट बनेको हुन्छ । पृथ्वी, जल, ताप, वायु तथा आकाश पञ्चतत्व हुन् । मानव शरीर मृत्यु भएपछि मासु, हड्डी जलाउने गरिन्छ, जुन खरानी हुन्छ भने जमिनमा गाडे माटो नै हुन्छ ।

त्यसैले यसलाई पृथ्वीको रूप मानिन्छ । रगत, पसिना आदि रसिलो पदार्थलाई जल तत्व मानिन्छ । शरीरको तातो भागलाई ताप तत्व र हवा श्वासलाई वायु तत्वका रूपमा र शरीरभित्रको खाली भागलाई आकाश तत्वको रूपमा लिइन्छ ।

यसरी पञ्चतत्वबाट बनेको मानव शरीरमा कुनै चिजको कमी भयो भने मानव शरीर विभिन्न रोगव्याधिबाट ग्रस्त हुन सक्छ । त्यसैले पनि यी तत्वहरूको उचित संयोजन भइरहनुपर्छ भनिन्छ । पञ्चतत्वलाई यसरी पनि वर्णन गरिएको पाइन्छ ।

अन्डालाई आकाश तत्व मानिन्छ, किनकि अन्डा पन्छीले दिन्छ । पन्छी आकाशमा उड्छ । त्यसैले अण्डालाई आकाश तत्व मानिएको हो । त्यस्तैगरी माछा पानीमा हुन्छ, त्यसैले माछालाई जल तत्व मानिन्छ ।

मासु जमिनमा विचरण गर्ने प्राणीबाट प्राप्त हुने भएकाले यो पृथ्वी तत्व मानिन्छ । सगुन लिइसकेपछि सगुन दिने मान्यवरलाई ढोगेर आशीर्वाद थाप्छन् ।
नेवारी समुदायमा म्ह पूजालाई नेपाल संवत् सुरुवात भएको पहिलो दिन मानिन्छ ।

त्यसैले यस दिनदेखि नयाँ आर्थिक वर्ष पनि सुरु हुने र नयाँ कामको पनि थालनी हुने हुँदा सो वर्ष सफलताका साथ सञ्चालन होस् भनेर घरमूलीले परिवारका सबै सदस्यहरूलाई अन्डा (ख्येँ) र दही (धौ) सगुन दिने प्रचलन पनि रहेको छ । विभिन्न चाडपर्वमा कानमा फूल सिउरिने चलन पनि नेवारी समाजमा त्यत्तिकै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *