Sajhamanch Archive

वीरता र काठमाडौं जेसीजबीच भगिनी सम्बन्धबारे पहिलो हस्ताक्षर

Published: in राष्ट्रिय समाचार by .

श्रीअन्तु । आपसमा भगिनी सम्बन्ध स्थापित गरेका वीरता जेसीज र काठमाडौं जेसीजबीच आइतबार साँझ इलामको श्रीअन्तुमा प्रथम हस्ताक्षर समारोह सम्पन्न भएको छ ।

दुई जेसीज शाखाबीचको भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजमा महत्वपूर्ण टेवा पुर्याउन योगदान गर्ने प्रतिबद्धतासहित हस्ताक्षर समारोह सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु थापाले हस्ताक्षर गरी भगिनी सम्बन्धको प्रमाणपत्र आदान–प्रदान गरेका थिए । हस्ताक्षर अघि सो प्रमाणपत्रको वाचन वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गमलामा रहेको फूलको बिरुवामा पानी सिञ्चित गरी समारोहको उद्घाटन गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले वीरता जेसीज र काठमाडौं जेसीजले देशभरका जेसीज शाखाहरुका लागि नयाँ सन्देश प्रवाह गरेको बताए । सबै शाखाहरुले यसरी नै भगिनी सम्बन्ध स्थापित गरेर समाजमा योगदान गर्ने हो भने जेसीजले धेरै काम गर्न सक्ने बताए ।

झापाका एक दर्जन जेसीज शाखाका अध्यक्ष तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको समारोहमा वीरता जेसीजको तर्फबाट काठमाडांै जेसीजकी अध्यक्ष थापालाई सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानपत्र वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराईले वाचन गरेका थिए । त्यस्तै काठमाडौं जेसीजका कार्यकारिणी उपाध्यक्ष दिवस कर्मचार्य, महासचिव कैलाश श्रेष्ठ, डाइरेक्टर पारशकुमार पोखरेललाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रविन पोखरेल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीज पूर्व अध्यक्ष समाज झापा उपाध्यक्ष रमेश पोखरेल लगायतले वीरता जेसीज र काठमाडौं जेसीजले इलामको दुर्गम क्षेत्रमा उत्कृष्ट कार्य गरेर भगिनी सम्बन्धलाई नयाँ उचाइमा पु¥याइ अरुका लागि समेत उदाहरणीय बनेको बताए ।

वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत समारोहका संयोजक विकास बस्नेत र धन्यवाद ज्ञापन समारोहका अर्का संयोजक सञ्जिव चापागाईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *