आयोगसँग परामर्श गरेर नै वैशाख ३० मा निर्वाचनको मिति घोषणा : प्रमुख निर्वाचन आयुक्त थपलिया
Published:
by .काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगसँग परामर्श गरेर नै सरकारले स्थानीय तहको निर्वाचन मिति तय गरेको बताएका छन्।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त निर्णय आयोगसँगको परामर्शमै भएको उनले बताए।
‘आयोगसँगको सल्लाह र परामर्शका आधारमा नै निर्वाचनको मिति घोषणा भएको हो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल लाइभसँगको कुराकानीमा भने।
मन्त्रिपरिषद् बैठकअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो। यसअघि आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा निर्वाचन गर्न मिति सिफारिस गरेको थियो।
एकै चरणमा गर्ने सहमति भएपछि आयोगले आजको छलफलमा वैशाख ३० गतेको मिति सिफारिस गरेको थियो।
Comments