Sajhamanch Archive

कमल थापाले छाड्दैमा राप्रपालाई असर पर्दैन : अध्यक्ष लिङ्देन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् ।

बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् ।

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाई थियो ।

लिङ्देनले भने, “यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन ।

हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।”

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे ।

पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे ।

उनले भने, “हामीले सबै साथीहरुलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन् ।

अहिले भूमिकाविहीन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ । अरु साथीहरुलाई पनि हामी आग्रह गर्छौँ, उहाँहरुलाई पनि आग्रह गर्छौँ, र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरुलाई आह्वान गर्छौँ कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन ।”

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रहसमेत गरे ।

वर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *