Sajhamanch Archive

शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन: एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका छन् ।

अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी०) सम्झौता लामो समयदेखि प्रतिनिधिसभा (संसद) मा विचाराधीन छ । पछिल्लो पटक भने ६ फेब्रुअरी (२३ माघ) मा मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर एमसीसीबारे निर्णय गर्न २८ फेब्रुअरी (१६ फागुन) को म्याद दिएको छ ।

१३ असोजमा देउवा र प्रचण्डले एमसीसी अनुमोदनका लागि वातावरण बनाउन ४र५ महिना समय मागेर एमसीसीलाई पत्र पठाएका थिए । तर सत्तारुढ गठबन्धनमै एमसीसीबारे साझा धारणा बन्न सकेको छैन । प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रयास गरेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रमुख विपक्षी नेकपा एमालेको सहयोग खोजेका छन् । तर एमालेले पनि संसदमा टेबल भएर सत्तारुढ गठबन्धनको धारणा नआएसम्म नबोल्ने बताएको छ ।

दलहरुबीच सहमति नजुटेकै कारण प्रतिनिधिसभाको बैठक पनि पटकपटक सूचना टाँसेर स्थगित गरिएको छ । २ फागुनका लागि बोलाइएको संसद बैठक पनि फेरि स्थगित गर्ने तयारी छ । एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकेपछि बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरेका छन् ।

लूले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्वाद गरेका हुन् ।

सहायक विदेशमन्त्री लू र प्रचण्डबीच फोनवार्ता भएको माओवादी उच्च स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार सम्वादका क्रममा लूले एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने र संसदबाट अनुमोदनका लागि दिइएको म्याद पनि थप गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘अब तपाईंहरुले निर्णय गर्नुपर्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले एमसीसीबारे जनमत विभाजित रहेको र आफ्नो दलको पनि केही विषय रहेको बताए । साथै नेपालमा चुनाव घोषणा भएकाले त्यसपछि मात्र यसबारे निर्णय गर्न सकिने आफ्नो दलको मत भएको सहायक विदेशमन्त्री लूलाई बताएका छन् ।

तर सहायक विदेशमन्त्री लूले संसदबाट अनुमोदन गर्ने समय बढाउन नसक्ने मात्र बताएनन्, एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका छन् । ‘हामीले बुझ्दा हाम्रो अनुदान सहयोग पनि चीनले हस्तक्षेप गरेर स्थगित गर्‍यो भनेर बुझ्छौं भनेर उहाँले भन्नुभयो,’ उच्च स्रोत भन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *