Sajhamanch Archive

सोह्रश्राद्ध शुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ? सोह्रश्राद्धको महत्व

Published: (Updated: ) in समाज by .

काठमाडौं । अाश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमावश्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्र वटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध शुरु हुने समय फरक हुन्छ ।

२०७५ सालमा सोह्रश्राद्ध २०७५ अाश्विन  ९ गते बिहान ७ बजेर ४२ मिनेटबाट सुरु भई २०७५ साल अाश्विन २३ गते ९ बजेर १३ मिनेट सम्म सोह्रश्राद्ध परेको छ ।

अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिवित हुँदा हामीले बुबा आमालाई खान दिइहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जिवित आमा बुबाको राम्रो सँग पालनपोषण गरेन । उसले मरेपछि पनि केहि गर्दैन तर जसले जीवित हुँदानै खानदियो लाउन दियो र सोधिखोजी गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमाबुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो  । पिण्ड भनेको अन्न हो र जल भनेको पानी हो ।

आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरीरमा भएको विभिन्न चक्रहरु विषेशगरि हृदय चक्रलाई उजागर गरी फल प्राप्त गरिरहेको हुन्छौ । हामीले आमा बुबा परलाेक भएकाे तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल वर्षभरीनै पितृहरुले प्राप्त गर्दछन् भन्ने शाश्त्रीय मान्यता रहेको छ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पितृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको छ । एउटा शाश्त्रीय भनाई के रहेको छ भने गएको कुसे औँसीबाटनै पितृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् /दिँदैनन्, जल दिन्छन् /दिँदैनन्, पिण्ड दिन्छन्/ दिँदैनन् भनेर बसिरहेका हुन्छन् ।

मानिसहरुले खानमा मासुपनि मिलाउने गर्दछन् । यो समयमा जो मांशहारी हुनुहुन्छ ती व्याक्तिहरु शाकाहारी हुँनु पर्दछ । जसका माता पीता हुँनुहुन्न उनीहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसी भोजनहरु ग्रहण गर्नु हुँदैन । पितृको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटी ग्रहण गर्नपर्दछ । अगाडि नै हात गोडाका नङ काट्ने, दिन प्रतिदिन स्नान गर्नु पर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ ।

जसको कुमार अवस्थामा दिवंगत भएको हुन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनीहरुको आत्माले शान्ति पाउछ । आश्विन कृष्ण पक्षको नवमीलाई मातृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मातृ नवमीलाई राम्रो मानिन्छ ।

मातृ नवमीको दिने तर्पण, जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पूर्ण स्त्रीहरुको उद्वार हुन्छ भन्ने शाश्त्रीय मान्यता रहेको छ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशी तथा द्वादशी तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा, दुर्घटनामा, अश्त्रश्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसीमा श्राद्ध गर्नुपर्दछ ।  आफ्ना पितृहरुको तिथि थाहा छैन भने औंसी तिथिमा श्राद्ध गर्दा सम्पूर्ण पितृहरु प्रशन्न हुन्छन् ।

श्राद्ध गर्दा विभिन्न नियमहरुको पालना गर्नु पर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै वृक्ष वा दतिउनबाट दाँत माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगायत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुँदैन ।

श्राद्ध नसकिकन शरीरमा तेल नलगाउनु, श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुन् । श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरी कर्म गर्दछ, जो मासुको व्यापार गर्छन्, तिनीहरुलाई श्राद्धमा बोलाउनु हुँदैन । शुद्ध ब्राह्मण एउटा उर्जा शक्ति हुन्छ त्यो तपाईँका पूर्वजहरुलाई प्राप्त हुन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भयो ।

ऋषि मुनिहरुलाई बोलाएर फलफूलहरु ग्रहण गराउनु भयो । त्यतिखेर फलफूल वितरण गर्दैगर्दा घरभित्र सीता आइन् र रामले किन भित्र आएको भन्दा सीताजीले जवाफ दिइन् मैले हाम्रा पूर्वजहरुको अनुहार ब्रह्माणको शरीरमादेखि भनेर भनेकी थिइन् । जो ब्रह्माणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनीहरुको शरीरबाट उर्जा हराएर जान्छ । काला दाँत भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउनु भनिएको छ । अन्नमा किरा परेकोछ , अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको  भने  ती अन्नहरु प्रयोग नगर्नु भनिएको छ ।

श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुपिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लशुन चलाउन हुँदैन । किन भन्दा यी चिजहरु गन्द प्रदान भएको हुनाले पितृहरु रुष्ट हुन्छन् । पहेलो सेतो फूलहरु चडाउनु पर्दछ । चन्दन चलाउदा पहेलो चलाउनु पर्दछ ।

रातो चन्दन चडाउनु हुँदैन किनकी रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो, वार्षिक श्राद्ध- जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा  नरिवलको भित्रको दानो जत्रो, मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिथि श्राद्धमा कुखुरामो अण्डा जत्रो, पावण श्राद्धमा अमलाको ठूलो दाना जत्रो दिनुपर्दछ ।

पिण्ड भनेको ब्रह्माण हो आफ्ना पितृहरुलाई हे हजुर मैले तपाईँलाई देखेको छैन, मैले हजुरलाई घिउ,चिनी दूध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ । औँसीको दिन पितृहरु फर्कने दिन भएकोले औँसीको दिन साँझमा दियो बालिदिने, पितृहरुको फोटो राख्ने, खीर बनाएरु चडाइदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु ।

श्राद्ध गरिसकेको भएपनि पितृहरुलाई सम्झनाले अाशीर्वाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छन् पितृहरुले हर्छन त्यसैले आफ्ना पितृहरुलाई खुसी पार्नु पर्दछ ।

 

घरमा, तिर्थमा, विष्णपादुकामा, गोकर्णमा, कोटीहोममा, पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पितृहरुको श्रद्धा भक्ति गरेर अनन्य अाशीर्वाद हामीले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष, विजय दशमी तथा शुभ दिपावली आउँछ तर पहिलो पितृहरुको अाशीर्वाद लिनु पर्दछ अनि देवताहरुको पूजा गर्नुपर्दछ ।

यूवा ज्योतिषि डिपि भण्डारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *