बिर्तामोड खानेपानी संस्था दोस्रो पटक पुनः देशकै उत्कृष्ट घोषित
Published:
by .बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोस्रो पटक पुन देशकै उत्कृष्ट घोषित गरिएको छ ।
अघिल्लो पटक सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष पनि दोस्रो पटक उत्कृष्ट घोषित भएको नगर विकास कोषको पत्रमा उल्लेख गरिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै पुरस्कृत गर्ने भएको हो ।
फागुन २ गते काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुन गइरहेको कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गर्न लागिएको छ ।
संस्थाले खानेपानी वितरण ,पानीको गुणस्तरीयता , महशुल ,लिकेज लगायतको अध्ययन पछि दश जनाको विज्ञ टोलीले गरेको मूल्यांकनका आधारमा संस्था उत्कृष्ट बन्न सफल भएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।
उहाँले संस्था यसअघि पशुराम सिटौला उपाध्यक्ष हुँदा सन् २०१८ मा पहिलो पटक देश कै उत्कृष्ट भएको बताउनु भयो । संस्थाले नगर विकास कोषबाट खानेपानी आयोजना संचालन , मर्मत संभारका लागि लिएको ऋणको भुक्तानी , आयोजना निश्चित समयमै सम्पन्न ,उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिनुभयो ।
संस्थापक अध्यक्ष टोरुप प्रसाईले नेतृत्व सम्हालेदेखि नै संस्था अब्बल रहँदै आएको बिर्तामोड खानेपानी संस्था पछिल्लो समय जलकुमार गुरुङले नेतृत्व गर्दै संस्था कुशल व्यवस्थापनका कारण देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो ।
सामाजिक क्षेत्र सहित कोषले निर्धारण गरेको मुल्याङ्कनका आधारमा संस्थालाई पुरस्कृत गर्न लगिएकोमा नगर विकास कोष प्रति संस्थाको तर्फ बाट आभार सहित धन्यबाद प्रकट गरेको छ ।
झापा अन्लाईन खबरबाट
Comments