देशकै पहिलो तीनमुखे झोलुङ्गे पूल
Published: (Updated: )
by .गुल्मी । पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पूल, पार्क, सडक जस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पुर्वाधारहरु पनि पर्यटकीय संभावनाका साथ निर्माण हुन थालेका छन् ।
नेपालमै पहिलो पटक रिडीमा बन्दै गरेको तीन मुखे झोलुङ्गे पूल पनि आन्तरिक तथा बाह्य पर्यटकको राम्रो गन्तव्य बन्नेमा दुईमत छैन । सम्झौता अनुसार लामो समय काम नभएपछि पुलको बिषयमा नागरिक स्तरमा आलोचना बढि र आशा कम थियो । पछिल्लो दुई वर्ष भने कामले गति लिएको छ ।
यो वर्ष निर्माण कम्पनीले सम्झौता अनुसारको काम पुरा गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगमस्थल रिडी अहिले तीनमुखे पुलका कारण थप चर्चामा आउन थालेको छ ।
तीन पटक म्याद थप
२०७१ सालमा तत्कालिन गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारी र तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालले यस पुलको शिलान्यास गरेका थिए । १५ असार ०७१ मा नौ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँको लागतमा नयाँबाटो–रुविना–मना जेभीले निर्माण कार्यको सम्झौता गर्यो ।
पुल सम्झौता भएको मितिले तीन वर्षमा पुल बन्नुपर्थ्यो । डिजाइन बन्न नै एक बर्ष बित्यो । विभिन्न प्राविधिक कारण र कोभिडले तीन पटक म्याद थप गरिएको स्थानीय पुर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुलचोक ललितपुरका इन्जिनीयर गोपाल थापाले जानकारी दिए ।
उनले यो डिजाइनको पुल नेपालमै पहिलो भएको बताए । पुलमा २५ मिटर उचाइसहितको भ्यु–टावर, तीन जिल्लाको तीनै तर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको निर्माण व्यावसायी करणजित बर्माले बताए ।
कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ्ग गोलाई भएको पिल्लर निर्माण भएको छ । अब प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ्ग, टपमा सोलार र भर्याङ्ग, रेलिङ्ग निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम बाँकी रहेको निर्माण व्यावसायी बर्माले बताए । यो पुलले स्याङजाको कालिगण्डकी गाउँपालिका १ चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली र गुल्मीमा रुरु क्षेत्र गाउँपालिका १ रिडी जोडेको छ ।
चार धाम मध्येको एक रुरु
रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल हो । जहाँ कालिगण्डकी नदी बग्छ । नेपालको चार धाम मध्येको एक हो रुरु क्षेत्र । जसलाई नेपालको बनारस भन्ने गरिएको छ । रुरु क्षेत्र धार्मिक पर्यटकीय गन्तब्य हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपुर्ण रहेको ऋषिकेश मन्दिरका पण्डित ओमप्रसाद भट्टराईले बताए । रुरुक्षेत्रमा भृगुतुंग र गलफूल गुफा रहेका छन् । रुरु क्षेत्रमा साना ठूला गरेर एक सय बढि मन्दिर छन् ।
रिडीमा मुख्य गरि माघे सक्रांन्तिमा तीन दिन र ऋषिकेश उत्सवमा दुई दिन ठूलो मेला लाग्ने गर्दछ । बर्ष भरिको औंशी, पुर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने भट्टराईले जानकारी दिए ।
भगवान बिष्णुको प्रतिक मानिने शालीग्रााम शिला पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लभ शालिग्रााम पाइने स्थानका रुपमा पनि चिनिएको छ । रिडीमा राडीपाखी, डोका, डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचि लगायतका स्थानीय उत्पादन पनि प्रख्यात मानिन्छन् ।
Comments