महाभियोगबारे छलफल गर्न कांँग्रेस संसदीय दलको बैठक बस्दै
Published:
by .काठमाडौं- सत्तारूढ दल नेपाली कांँग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।
बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।
साथै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ। संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।
आज नै कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ।
आसन्न स्थानीय तह निर्वाचन, महाभियोग प्रस्ताव र एमसीसीलगायत विषयमा पनि छलफल हुनेछ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्चका चार जना न्यायाधीश र सभामुखमाथि महाभियोग अघि बढाउने तयारी गरेको छ। एमालेले संसदीय दलको बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ।
आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्ता पक्षको कदमको सदन, सडक र कानुनी क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो।
Comments