Sajhamanch Archive

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

Published: in मिडियाबाट साभार, समाज by .

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनर्निर्माण गरिएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रू एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।

विसं.२०२१ सालमा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रंगेलीमा रहेको काली मन्दिर जस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ” उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।”

मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रू २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोच अनुरुप मन्दिर निर्माण गरिएको बताउनुभयो । “नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयबासी लाग्नुभएको छ”, उहाँले भन्नुभयो, “यसमा नगरपालिकाले पनि होस्टेमा हैसे गरेको हो ।”

मन्दिर निर्माणका लागि विभिन्न दाताहरुले आर्थिक सहयोग गर्नुभएको कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताउनुभयो । “दाताहरुबाट संकलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ”, उहाँले भन्नुभयो ।
काली, दूर्गा, गणेश, लक्ष्मी, सरस्वतीको ठूला मूर्ति भारतको राजस्थानबाट र सोही अनुरुपका साना मूर्ति भारतको सिलिगुढीबाट खरीद गरेर ल्याइएको छ । रू ७ लाखको लागतमा मूर्ति खरीद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिनुभयो ।

१४ धुरमा निर्माण गरिएको मन्दिरलाई एक तोलाको सुनको गजुर समेत स्थानीय पुष्पराज डोटेलको परिवारले प्रदान गरेको समितिका सचिव अर्जुन राजवंशीले बताउनुभयो । उहाँले विभिन्न दाताहरुले मन्दिरका मूर्तिहरुमा सुनको मुकुट बनाइदिने प्रतिबद्धता जनाएको समेत बताउनुभयो । २०७६ मंसिर २१ गते नगर प्रमुख जीवनकुमार श्रेष्ठले मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।

झापा अन्लाइनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *